नेपाल लाइफको पहिलो बन्दमुखी योजना, १० वर्षको अवधिसहित सुरु हुँदै
वि.सं.२०८२ पुस १५ मंगलवार १५:०३
shares

काठमाडौं, १५ पुस । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रवर्द्धक र नेपाल लाइफ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘नेपाल लाइफ समृद्धि लगानी योजना’का लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ।
यस योजना अन्तर्गत प्रति इकाई १० रुपैयाँ अंकित मूल्यका १६ करोड इकाई जारी गरिनेछ। कम्पनीले जनाएको अनुसार यसबाट कुल १ अर्ब ६० करोड रुपैयाँ बराबरको फण्ड संकलन हुने अनुमान छ। यो नेपाल लाइफ इन्स्योरेन्सको पहिलो बन्दमुखी योजना हो र यसको अवधि १० वर्ष रहनेछ।
योजना व्यवस्थापकले सम्पूर्ण प्रक्रिया पूरा भइसकेको र चाँडै सर्वसाधारणका लागि इकाई बिक्री खुला गरिने जानकारी दिएको छ।
कम्पनीले उल्लेख गरेअनुसार कोषबाट संकलित रकम धितोपत्र बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएको धितोपत्र, धितोपत्र बजारमा सूचीकृत धितोपत्र, बैंक निक्षेप, मुद्रा बजार उपकरण, नेपाल सरकार वा अन्य सरकारी संस्थाले जारी गरेको ऋणपत्र, ट्रेजरी विल र मुद्रा बजारका अन्य साधनहरूमा लगानी गरिनेछ।


















