क्यानले सौर्य एयरलाइन्सलाई उडान अनुमति दिन १६ महिनादेखि अड्कायो
वि.सं.२०८२ पुस १६ बुधवार १०:५१
shares

काठमाडौं, १६ पुस । बम्बार्डियर जेट जहाजहरू मार्फत हवाई सेवा दिँदै आएको सौर्य एयरलाइन्सले उडान भर्न नपाएको १६ महिना बित्यो । तर, अझै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उडान अनुमति दिएको छैन ।
उक्त एयरलाइन्सको ‘९एन–एएमई’ कलसाइनको ‘सीआरजे–७’ बम्बार्डियर जहाज ९ साउन ०८१ मा काठमाडौंमा दुर्घटना भएको थियो । काठमाडौंबाट पोखराका लागि उडेको उक्त जहाज त्रिभुवन विमानस्थलको धावनमार्ग नजिक पूर्वतर्फ दुर्घटनाग्रस्त भएको थियो ।
घटनामा १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने क्याप्टेन मनिष शाक्य गम्भीर घाइते भएका थिए । मृतकमध्ये १७ जना नेपाली र एक यमनका नागरिक थिए । २ भदौ २०७१ मा ‘९एन–एएलई’ कलसाइनको पहिलो जहाज भित्र्याएर सोही वर्ष १ मंसिरदेखि सौर्य एयरलाइन्सले नियमित उडान थालेको थियो । त्यसपछि मार्च २०१७ मा एयरलाइन्सले ‘९एन–एएमई’ जहाज थपेको थियो । सोही जहाज ९ साउन ०८१ मा दुर्घटनामा परेको थियो ।
काठमाडौंलाई मुख्य हब बनाएर एयरलाइन्सले भद्रपुर, विराटनगर, धनगढी, नेपालगञ्ज, पोखरा र भैरहवामा उडान भर्दै आएको थियो । तर, पछिल्लोपटक ल्याएको जहाज नै दुर्घटनामा परेपछि कम्पनीले आफ्नो उडान बन्द ग¥यो ।
कम्पनीका अध्यक्ष दीपक पोखरेलका अनुसार सबै विभागले सौर्य एयरलाइन्सका कार्यसम्पादन उत्कृष्ट भएको रिपोर्ट दिएका छन् । यस्तै, सेफ्टी अडिटमा कम्तिमा ६० प्रतिशत ल्याउनुपर्नेमा ६५.६७ प्रतिशत ल्याएको छ । यसैगरी, दुर्घटना जाँचबुझ आयोगले दिएको सेफ्टी रिकोमेन्डेसनका २३ वटा मापदण्ड नै पूरा गरिसकेको छ । ‘उडान रोक्नुपर्ने कुनै कारण छैन,’ एयरलाइन्सका वरिष्ठ अधिकारी उमेश आचार्य भन्छन् ।
दुर्घटनाका मृतक १८ मध्ये ९ जनाको परिवारले बीमा रकम र क्षतिपूर्ति प्राप्त गरिसकेका छन् । बाँकी ९ जनाको परिवार बढी क्षतिपूर्ति माग गरेकाले कानूनी उपचारमा जान उनीहरूलाई कम्पनीले सहयोग गरिरहेको सौर्य एयरलाइन्सले जनाएको छ । एयरलाइन्सले दुर्घटनामा मृत्यु भएका आफ्ना कर्मचारीका परिवारलाई कम्पनीमा काम गरेको अवधिका आधारमा क्षतिपूर्ति रकम उपलब्ध गराएको छ । त्यस आधारमा लामो समय काम गरेका कर्मचारीका परिवारले १८ लाखदेखि २० लाख रुपैयाँसम्म पनि भुक्तानी पाएका छन्। र, दुर्घटनापछि उडान बन्द रहँदा पनि सौर्यले आफ्ना कर्मचारीलाई तलब भुक्तानी गरिरहेकै छ ।
त्यसका बावजुद पनि नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति नपाएको कम्पनीका अध्यक्ष पोखरेल बताउँछन् । हालै हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा निलम्बित क्यानका महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सका कर्मचारी र पदाधिकारीहरूसँग तत्काल उडान अनुमति दिने बताउने गरेका थिए । उनीहरू क्यानबाट बाहिर निस्किनासाथ कर्मचारीहरूलाई बोलाएर फाइल अगाडि नबढाउन निर्देशन दिने गरेका थिए । उनी निलम्बित भएपछि हाल देवचन्द्रलाल कर्ण क्यानका निमित्त महानिर्देशक छन् । उनले पनि उडान अनुमति दिन आनाकानी गरिरहेको अध्यक्ष पोखरेल बताउँछन् ।
यसअघि जहाज दुर्घटनामा परेका एयरलाइन्सहरूको उडान रोकिएको छैन । तर, सौर्य एयरलाइन्सको उडान रोक्नुको कारण पनि क्यानले दिएको छैन ।
यस विषयमा क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलसँग प्रतिक्रिया लिन खोज्दा उनले आफू कार्यक्रममा रहेको भन्दै प्रतिक्रिया दिन मानेनन् ।

















