धनुषा र महोत्तरीका किसानबाट ६ हजार क्विन्टल बढी धान खरिद
वि.सं.२०८२ पुस २३ बुधवार १६:५१
shares

काठमाडौं, २३ पुस । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय जनकपुरधामले धनुषा र महोत्तरीका किसानबाट हालसम्म ६ हजार २७५ क्विन्टल सोना मन्सुली धान खरिद गरेको छ। गत मङ्सिर २८ गतेदेखि धान खरिद प्रक्रिया सुरु गरेको कम्पनीले अहिले दैनिक ५ देखि १५ जना किसानको धान संकलन गरिरहेको छ। हालसम्म १६५ जना किसानले स्थानीय तहको सिफारिसमा आफ्नो उत्पादन बिक्री गरिसकेका छन्।
कम्पनीले यस वर्ष कुल १३ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ, जसको करिब आधा हिस्सा संकलन भइसकेको छ। प्रतिकिसान अधिकतम ५० क्विन्टलसम्म धान खरिद गर्ने नीति भए पनि स्थानीय तहको सिफारिसमा केही किसानबाट ५५ क्विन्टलसम्म लिने गरिएको छ। धान बिक्री गर्नेहरूमा धनुषाको लक्ष्मीनिया, नगराइन र क्षिरेश्वरनाथ नगरपालिका तथा महोत्तरीको बलवा नगरपालिकाका किसानहरू बढी रहेका छन्।
सरकारले यस वर्ष सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ रुपैयाँ ३३ पैसा तोकेको छ। किसानलाई धानको भुक्तानी सिधै उनीहरूको बैंक खातामा पठाउने व्यवस्था मिलाइएको प्रादेशिक प्रमुख निर्मल थापाले जानकारी दिएका छन्। कम्पनीको गोदाम नजिक दुईवटा काँटा राखेर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म धान संकलनको काम भइरहेको छ।
खरिद गर्नुअघि कम्पनीले धानको गुणस्तर परीक्षण गर्ने गरेको छ। गुणस्तर शाखाकी अधिकृत सरला प्रजापतिका अनुसार मापदण्ड पुगेका गुणस्तरीय धान मात्र खरिद गरिएको छ। स्थानीय बजारमा उचित मूल्य नपाउने चिन्तामा रहेका किसानहरूका लागि सरकारी समर्थन मूल्यमा धान खरिद सुरु भएपछि राहत मिलेको छ। अझै धेरै किसानहरू धान बिक्रीका लागि नाम दर्ता गराएर पालो पर्खिरहेका छन्।

















