Dhulikhel Eco Banner new

‘तरलता पर्याप्त भए पनि कन्फिडेन्सको अभावले ऋण लगानी प्रभावित बनेको छ’

10.26K
shares

काठमाडौं, २९ पुस । गुडविल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सरोजकाजी तुलाधरले बैंक तथा वित्तीय संस्थाको वर्तमान वित्तीय अवस्था चुनौतीपूर्ण रहेको बताएका छन् । केटिएम भ्वाइसले सुरु गरेको ‘फाइनान्स कनेक्ट’ सिरिजमा कुरा गर्दै अध्यक्ष तुलाधरले यस्तो बताएका हुन् ।

उनका अनुसार समस्या फाइनान्स कम्पनीमा मात्र सीमित नभई समग्र बैंकिङ क्षेत्र नै कठिन अवस्थामा छ। “अवस्थामा केही सुधार देखिए पनि अझै स्पष्ट रूपमा सहज भइसकेको छैन,” सीईओ तुलाधरले भने, “नेपाल राष्ट्र बैंकको नीतिगत हस्तक्षेपले केही सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ, तर समग्र आर्थिक गतिविधि भने अझै पर्याप्त रूपमा चलायमान देखिँदैन।”

उनका अनुसार हाल बैंकिङ प्रणालीमा तरलता बढ्दो क्रममा छ र निक्षेप संकलन पनि बढिरहेको छ। तर, संकलित निक्षेपअनुसार कर्जा लगानी भने अर्थतन्त्रमा प्रभावकारी रूपमा प्रवाह हुन सकेको छैन। “व्यवसायीहरूको आत्मविश्वास (कन्फिडेन्स) कमजोर बनेको छ,” उनले भने, “जेनजी आन्दोलनअघि बजारमा सकारात्मक भावना बन्ने संकेत देखिएको थियो, तर त्यसले निरन्तरता पाउन सकेन।”

सीईओ तुलाधरले फाइनान्स कम्पनीमा ऋणीबाट कर्मचारीमाथि कुटपिट तथा दुव्र्यवहार हुने घटनासमेत देखिएको स्वीकार गरे। “स्थानीय निकायबाट आवश्यक प्रमाणिकरण र लिलाम प्रक्रियामा सहयोग नहुँदा बैंक तथा वित्तीय संस्था र कर्मचारी दुवै नकारात्मक असरमा पर्छन्,” उनले भने।

यो पनि पढ्नुहोसः ‘बैंकका कर्मचारी असुरक्षित हुँदा बैंकिङ प्रणाली नै जोखिममा पर्छ’

डिजिटल बैंकिङ प्रवर्द्धनतर्फ गुडविल फाइनान्स सक्रिय रूपमा अघि बढिरहेको उनले जानकारी दिए। उनका अनुसार कम्पनीले पूर्ण डिजिटल बैंकिङ प्रणाली विकासमा काम गरिरहेको छ भने डिजिटल भुक्तानी सेवा प्रदायक इसेवासँगको सहकार्यमा पनि परियोजना अगाडि बढाइएको छ।

हाल गुडविल फाइनान्सको वित्तीय अवस्था पनि अत्यन्तै सन्तोषजनक नरहेको स्वीकार गर्दै सीईओ तुलाधरले कर्जा विस्तार नहुनुको मुख्य कारण कर्जा दिने र लिने दुवै पक्षमा विश्वासको कमी भएको बताए। “कर्जा दिने र लिने दुवै पक्षको कन्फिडेन्स बढाउनु अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो,” उनले भने।

सम्पादकीय नोटः फाइनान्स कम्पनीबारे अझ प्रष्ट हुन केटिएम भ्वाइसले ‘फाइनान्स कनेक्ट’ सिरिज सुरु गरेको छ । यस सिरिज अन्तर्गत पहिलो चरणमा हामी पालैपालो सबै फाइनान्स कम्पनीका सीईओहरुसँग कुराकानी गरेर समाचार पस्कनेछौँ । तत् पश्चात भने फाइनान्स कम्पनी क्षेत्रका सरोकारवालाको अन्तरवार्ता प्रस्तुत गर्नेर्छौ । तपाईलाई पनि आफ्नो कुरा राखौँ भन्ने लागेको छ भने प्रधानसम्पादक (९८५११४५६४१) मा सिधैं सम्पर्क गर्न सक्नु हुनेछ ।

Follow Up

‘बैंकका कर्मचारी असुरक्षित हुँदा बैंकिङ प्रणाली नै जोखिममा पर्छ’

‘बैंकका कर्मचारी असुरक्षित हुँदा बैंकिङ प्रणाली नै जोखिममा पर्छ’