Dhulikhel Eco Banner new

सरकारको अर्धवार्षिक राजस्व संकलन ५ खर्ब ८१ अर्ब रुपैयाँ, लक्ष्यभन्दा ८१.७५ प्रतिशत मात्र पूरा

3.32K
shares

काठमाडौं, १ माघ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। राजस्व व्यवस्थापन सूचना प्रणालीको तथ्यांक अनुसार पुस ३० गतेसम्म संकलित रकम सरकारको अर्धवार्षिक लक्ष्यको ८१.७५ प्रतिशत मात्र हो।

सरकारले पुस मसान्तसम्म ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो। अर्थ मन्त्रालयका अनुसार यो अवधिमा संकलित राजस्व लक्ष्यभन्दा करिब १ खर्ब ३० अर्ब रुपैयाँ कम भएको छ।

चालु आर्थिक वर्षका लागि सरकारको वार्षिक राजस्व लक्ष्य १४ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ। हालसम्म संकलित रकम वार्षिक लक्ष्यको करिब ३९ प्रतिशत हो।

पुस महिनामा आयकरको दोस्रो किस्ता बुझाउने समय भएकाले राजस्व संकलनको दृष्टिले यो महिना अत्यन्त महत्वपूर्ण मानिन्छ। यसै क्रममा पुस महिनामा मात्र सरकारले १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। पुस महिनाको लक्ष्य १ खर्ब ९० अर्ब ७७ करोड राखिएको थियो, जसको तुलना गर्दा संकलन ८९.९६ प्रतिशत पुगेको देखिन्छ। पुस ३० गते मात्रै सरकारी खातामा २० अर्ब २६ करोड रुपैयाँ दाखिला भएको तथ्यांक देखिन्छ।

गत वर्ष पुस मसान्तसम्म संकलित राजस्व ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ मात्र थियो। पुस महिनाको संकलन १ खर्ब ६१ अर्ब ६२ करोड रहेकोमा यस वर्ष १० अर्ब रुपैयाँ बढी संकलन भएको छ। अर्धवार्षिक समग्र संकलनमा पनि १४ अर्ब रुपैयाँभन्दा बढी सुधार देखिएको छ।

अर्थ मन्त्रालयका अनुसार, सरकारले वार्षिक लक्ष्य पूरा गर्न आगामी ६ महिनामा करिब ९ खर्ब रुपैयाँ थप संकलन गर्नुपर्ने अवस्था छ।