Dhulikhel Eco Banner new

बालबालिकाको नाममा बैंक खाता खोल्न राष्ट्र बैंकको आग्रह

3.95K
shares

काठमाडौं, २० माघ । नेपाल राष्ट्र बैंकले अभिभावकलाई सानै उमेरदेखि आफ्ना बालबालिकाको नाममा बैंक खाता खोली बचत गर्ने बानी बसाल्न आग्रह गरेको छ। बालबालिकालाई प्रारम्भिक अवस्थामै बचतको महत्त्व बुझाउन र भविष्यका लागि वित्तीय योजना तयार गर्न नाबालककै नाममा बैंक खाता खोल्नुपर्ने राष्ट्र बैंकको सुझाव छ।

राष्ट्र बैंकका अनुसार जन्मदर्ता प्रमाणपत्र वा नाबालक परिचयपत्रको आधारमा कुनै पनि बैंक तथा वित्तीय संस्थामा नाबालकको खाता खोल्न सकिन्छ। नाबालक कानुनी रूपमा बालिग नभएसम्म उक्त खाता सञ्चालनको अधिकार अभिभावक वा संरक्षकमा रहने व्यवस्था छ।

नाबालक बालिग भएपछि भने सम्बन्धित बैंक वा वित्तीय संस्थामा गई आधिकारिक हस्ताक्षर तथा अन्य विवरण अद्यावधिक गरेपछि खाता सञ्चालनको अधिकार स्वतः हस्तान्तरण हुने राष्ट्र बैंकले जनाएको छ।

बैंक खाता खोल्न उमेरको कुनै सीमा नरहेकाले सानै उमेरदेखि बालबालिकालाई बैंकिङ प्रणालीसँग परिचित गराउँदै वित्तीय चेतना अभिवृद्धि गर्न अभिभावकले पहल गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ।