Dhulikhel Eco Banner new

फ्री इन्टरनेट प्रयोग गरेर डिजिटल कारोबार नगर्नुहोस्ः राष्ट्र बैंक

2.8K
shares

काठमाडौं, २७ माघ । नेपाल राष्ट्र बैंकले सार्वजनिक स्थानमा उपलब्ध नेटवर्क प्रयोग गरी डिजिटल बैंकिङ कारोबार गर्दा उच्च जोखिम हुने भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि सूचना जारी गर्दै सार्वजनिक, निःशुल्क वा असुरक्षित नेटवर्कमार्फत डिजिटल कारोबार गर्दा बैंकिङ विवरणमा अनधिकृत पहुँच पुग्न सक्ने जोखिम रहेको जनाएको हो।

राष्ट्र बैंकका अनुसार यस्ता नेटवर्कमा विभिन्न ह्याकर तथा वित्तीय अपराधीहरू समेत जोडिन सक्ने भएकाले प्रयोगकर्ताको महत्वपूर्ण वित्तीय विवरण चोरी भई दुरुपयोग हुने सम्भावना रहन्छ। “आफ्नो व्यक्तिगत तथा बैंकिङ विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वसनीय नेटवर्कमार्फत मात्र अनलाइन बैंकिङ कारोबार गर्नुपर्दछ,” सूचनामा उल्लेख गरिएको छ।

केन्द्रीय बैंकले अनलाइन बैंकिङ कारोबार गर्दा सम्बन्धित बैंकको आधिकारिक वेबसाइट तथा मोबाइल एप्लिकेसन मात्र प्रयोग गर्न, पासवर्ड तथा पिन कोड समय–समयमा परिवर्तन गर्न र कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल बैंकलाई जानकारी गराउनसमेत आग्रह गरेको छ।

डिजिटल कारोबारको प्रयोग बढ्दो क्रममा रहेकाले साइबर सुरक्षाप्रति थप सजगता अपनाउन राष्ट्र बैंकले सर्वसाधारणलाई अनुरोध गरेको छ।