Dhulikhel Eco Banner new

डिजिटल ठगीको शिकार नबनौं, बैंकलाई खबर गरौंः राष्ट्र बैंक

3.89K
shares

काठमाडौं, १२ फागुन । बैंक तथा वित्तीय संस्थाको नाम र लोगो दुरुपयोग गर्दै ‘केवाईसी विवरण अद्यावधिक’को बहानामा हुने डिजिटल ठगीका घटना पछिल्लो समय तीव्र रूपमा बढिरहेका छन्। ठग समूहहरूले फोन, एसएमएस तथा सामाजिक सञ्जालमार्फत नक्कली लिंक पठाएर सर्वसाधारणका गोप्य बैंकिङ सूचना हात पार्ने प्रयास गरिरहेका छन्।

ठगीका लागि “केवाईसी अपडेट नगरे खाता बन्द हुनेछ” वा “तपाईँको बैंक खाता निलम्बन हुन लागेको छ” जस्ता त्रासपूर्ण सन्देश पठाइन्छ। प्रयोगकर्ताले सन्देशमा दिइएको लिंक क्लिक गरेपछि ओटीपी, पिन नम्बर, पासवर्ड लगायत संवेदनशील विवरण मागिने र त्यसैको आधारमा खाताबाट रकम चोरी हुने गरेको पाइएको छ।

यस विषयमा नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्र बैंकका अनुसार कुनै पनि बैंक वा वित्तीय संस्थाले केवाईसी अद्यावधिकका लागि एसएमएस वा सामाजिक सञ्जालमार्फत लिंक पठाउने प्रचलन छैन।

राष्ट्र बैंकले ओटीपी, पिन, पासवर्ड वा अन्य गोप्य विवरण कसैसँग पनि साझेदारी नगर्न, अपरिचित वा शङ्कास्पद लिंकमा क्लिक नगर्न तथा केवाईसीसम्बन्धी कामका लागि सम्बन्धित बैंकको आधिकारिक वेबसाइट वा नजिकको शाखामार्फत मात्रै प्रक्रिया पूरा गर्न सुझाव दिएको छ। साथै, कुनै शङ्कास्पद गतिविधि देखिएमा तुरुन्त सम्बन्धित बैंकलाई जानकारी गराउन पनि आग्रह गरिएको छ।