पत्रकारिता देखि राजनीतिः जनताको सेवा, विकास र उत्तरदायित्वमा थापाको चुनावी एजेन्डा
वि.सं.२०८२ फागुन १२ मंगलवार १५:४५
shares

काठमाडौं, १२ फागुन । काठमाडौंबाट केही घण्टाको यात्रा मात्रै पुग्ने काभ्रेपलाञ्चोक जिल्ला राजधानीसँग जोडिएको भएपनि विकासको दृष्टिले पछाडि छ। विडम्बना, राजधानी नजिक रहेको यो जिल्लामा पनि आधारभूत पूर्वाधार र जनजीवन सुधारमा पर्याप्त काम भएको छैन। जिल्लामा दुई निर्वाचन क्षेत्र छन् र लाखौं मतदाताले पटकपटक प्रतिनिधि चयन गरे पनि जनताले प्रत्यक्ष परिवर्तन महसुस गरेका छैनन्।
भदौ २३ र २४ गतेको जनजागरण अभियान (जेनजी) प्रदर्शनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गर्ने घोषणा गरेको छ। यस पटकको निर्वाचनमा काभ्रेका मतदाता देश र जनताका लागि काम गर्ने, प्रतिबद्ध र उत्तरदायी प्रतिनिधि छान्ने प्रयासमा छन्।
निर्वाचन क्षेत्र नम्बर २ मा दर्जनौं उम्मेदवारले उम्मेदवारी दिएका छन्। यद्यपि, यस क्षेत्रका मतदाताले ‘काम गर्ने उम्मेदवार’ को खोजीमा अलमलमा छन्। त्यही क्रममा भुम्लु गाउँपालिका–२, सिम्थलीका ३० वर्षीय उमेश थापा चर्चामा आएका छन्। उनले आफ्नो चुनाव चिन्ह ‘ठेकी’ मार्फत जनतालाई निराश नहुने वाचा गरेका छन्।
थापा लामो समयदेखि पत्रकारितामा आबद्ध रहेका छन्। उनी भन्छन्, “पत्रकारितामा हुँदा मैले जनताको समस्या उठाइरहें। ती समस्या समाधान गर्ने र जनताको आवाज सरकारको कानमा पुर्याउने उद्देश्यले राजनीतिमा प्रवेश गरेको हुँ। मलाई विश्वास छ, जनतालाई सशक्त बनाउन, उनीहरुको समस्या समाधान गर्न र क्षेत्रको विकासमा योगदान दिन म सक्षम छु।”
उनी पत्रकारितालाई राजनीतिसँग तुलना गर्दै भन्छन्, “पत्रकारिता र राजनीति दुवै सेवा हो। दुवैमा मुख्य उद्देश्य जनताको सेवा गर्नु हो। पत्रकारिताबाट मैले जनताको आवाज उठाएँ भने राजनीतिमा आउँदा त्यस आवाजलाई नीतिगत रूपमा समाधान गर्ने अवसर पाइन्छ।”
उमेश थापाले आफ्नो प्रमुख एजेन्डा विकास, शिक्षा, स्वास्थ्य र पूर्वाधार सुधार रहेको बताएका छन्। उनका अनुसार, भद्रगोल प्रशासन, सडक, स्वास्थ्य सेवा र रोजगारी क्षेत्रमा सुधार आवश्यक छ। “जनतालाई सुविधा र सेवा पुर्याउने काम कहिल्यै निराश नहुने छ,” उनले स्पष्ट पार्छन्।
स्थानीय मतदाता भने उम्मेदवार थापाको प्रतिबद्धतालाई सकारात्मक रूपमा हेर्दैछन्। उनका समर्थक भन्छन्, “उमेश थापालाई मौका दिइयो भने उनी प्रमाणित गरेर देखाउन सक्छन्। उनी जनताको सेवामा सधैं सक्रिय रहने व्यक्ति हुन्।”
काभ्रेपलाञ्चोकका मतदाता अब आफ्नो मतमार्फत विकास र जनमुखी शासनको बाटो तय गर्ने तयारीमा छन्। निर्वाचन क्षेत्र नम्बर २ का मतदाताको नजर उम्मेदवार थापामा केन्द्रित छ, जसले विकास र जनताको आवाजको प्रतिनिधित्व गर्ने दाबी गरेका छन्।
यो निर्वाचन नजिकिँदै गर्दा उम्मेदवार थापा लगायत अन्य उम्मेदवारहरूको नीति, दृष्टिकोण र प्रतिबद्धता मतदाताको निर्णयमा निर्णायक भूमिका खेल्नेछ।

















