ब्रिटिश गोर्खा र सिंगापुर पुलिसका लागि भर्ती खुला
वि.सं.२०८२ फागुन २५ सोमवार १०:२८
shares

काठमाडौं, २५ फागुन । ब्रिटिश आर्मी अन्तर्गतको गोर्खा र सिंगापुर पुलिस फोर्सको गोर्खा कन्टिन्जेन्टका लागि सन् २०२७ को रेक्रुट इन्टेकमा नेपाली युवाहरूबाट भर्ती खुला गरिएको छ। भर्ती प्रक्रिया पूर्ण रूपमा योग्यता आधारित हुने र उत्कृष्ट उम्मेदवारलाई मात्र छनोट गरिने जनाइएको छ।
भर्तीमा सहभागी हुन इच्छुक उम्मेदवारले अनलाइनमार्फत आफ्नो नाम, ठेगाना, एनपीपी नम्बर तथा जिल्ला दर्ता गर्नुपर्नेछ। अनलाइन दर्ता प्रक्रिया सन् २०२६ मार्च ७ देखि अप्रिल ६ (फागुन २३ देखि चैत २३) सम्म सञ्चालन हुनेछ।
पहिलो चरणको छनोट प्रक्रिया पोखरास्थित ब्रिटिश गोर्खा क्याम्प र धरानस्थित ब्रिटिश क्याम्पमा अप्रिल २८ देखि जुलाई ३ (वैशाख १५ देखि असार १९) सम्म सञ्चालन गरिनेछ। त्यस्तै सुर्खेतस्थित एडब्लूसी भेरीमा अप्रिल २८ देखि जुन ५ (वैशाख १५ देखि जेठ २२) सम्म छनोट प्रक्रिया चल्ने जनाइएको छ।
भर्तीका लागि न्यूनतम शैक्षिक योग्यता कक्षा १० (एसईई) उत्तीर्ण वा सो सरह हुनुपर्नेछ। उमेर सन् २०२६ डिसेम्बर ३१ सम्म कम्तीमा १८ वर्ष पूरा भएको र २१ वर्ष ननाघेको हुनुपर्नेछ। उम्मेदवारको उचाइ कम्तीमा १५८ सेन्टिमिटर हुनुपर्नेछ भने शरीर तौल सूचकांक (बीएमआई) पनि तोकिएको मापदण्डभित्र हुनुपर्नेछ।
त्यसैगरी उम्मेदवारले आँखामा चश्मा नलगाएको वा लेजर सर्जरी नगराएको हुनुपर्नेछ। आँखा छड्के वा डेडो नभएको, दाँतमा दुईभन्दा बढी समस्या नभएको तथा अगाडिको दाँत नक्कली नभएको हुनुपर्ने मापदण्ड राखिएको छ।
दर्ताका लागि मेशिन रिडेबल पासपोर्ट (एमआरपी) वा इ–पासपोर्ट अनिवार्य गरिएको छ। साथै प्रशिक्षण केन्द्रहरू ब्रिटिश गोर्खा वा सिंगापुर प्रहरीसँग प्रत्यक्ष सम्बन्धित नभएको उल्लेख गर्दै भर्ती गराइदिने भन्दै कसैले पैसा मागेमा नदिन पनि आग्रह गरिएको छ।
















