Dhulikhel Eco Banner new

बढ्दो वायु प्रदूषणले स्वास्थ्यमा जोखिम

4.37K
shares

काठमाडौं, २५ फागुन । पछिल्लो समय काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक बढेको छ । प्रदूषणका कारण उपत्यकाको आकाश धमिलो बनेको छ भने घाम समेत राम्रोसँग लाग्न सकेको छैन।

सोमबार बिहानैदेखि काठमाडौँको मौसम धुम्म देखिएको छ। दृश्य क्षमता घटेका कारण सडक यातायात र हवाई उडानमा समेत सामान्य प्रभाव परेको छ। हावामा धुलोका कण र धुवाँको मात्रा बढेसँगै सर्वसाधारणले आँखा पोल्ने, घाँटी सुख्खा हुने तथा श्वासप्रश्वासमा असहजता महसुस गर्न थालेका छन्।

वातावरण विभागका अनुसार उपत्यकाको वायु गुणस्तर सूचकांक जोखिमपूर्ण स्तरमा पुगेको छ। लामो समयदेखि हिउँदे वर्षा नहुनु, सुख्खा मौसम कायम रहनु तथा देशका विभिन्न भागमा लागेको डढेलोको धुवाँ हावाको माध्यमबाट उपत्यकामा प्रवेश गरेकाले प्रदूषण एक्कासी बढेको मौसमविद्हरूले बताएका छन्।

विशेषगरी बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीहरूलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन्। बाहिर निस्कनै परे गुणस्तरीय मास्क प्रयोग गर्न र भीडभाड तथा धुलो बढी हुने स्थानबाट टाढा रहन पनि उनीहरूले आग्रह गरेका छन्।