Dhulikhel Eco Banner new

नेप्सेमा उछाल, तीन पटक सर्किट ब्रेक लाग्दै कारोबार बन्द

4.52K
shares

काठमाडौं, २५ फागुन । प्रतिनिधि सभाको निर्वाचनपछि राजनीतिक स्थिरताको आशा बढेसँगै सोमबार शेयर बजारमा उत्साह देखिएको छ। बजार खुलेको केही मिनेटमै तीव्र उकालो लागेपछि दिनभरमा तीन पटक सर्किट ब्रेक लाग्दै अन्ततः कारोबार पूर्ण रूपमा बन्द गरिएको छ।

बजार खुलेको झण्डै एक मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेर २० मिनेटका लागि कारोबार रोकिएको थियो। त्यसपछि पुनः खुलेको बजारमा तीव्र वृद्धि आएपछि दोस्रो सर्किट ब्रेक लाग्यो र नियमअनुसार ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो।

तर, त्यसपछि खुलेको बजारले फेरि तीव्र गति समातेपछि अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६ प्रतिशतले बढ्दै तेस्रो सर्किट ब्रेक लाग्यो र दिनभरको लागि कारोबार बन्द गरिएको हो।

आज बजारमा नेप्से १६२।९३ अंकले बढेर २८७५।४३ बिन्दुमा पुगेको छ। बजार खुलेको केवल दुई मिनेटमै २६१ कम्पनीका ११ लाख ४३ हजार कित्ता शेयर किनबेच हुँदा ५५ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ।

नेपाल स्टक एक्सचेञ्जमा लागू गरिएको सर्किट ब्रेक प्रणालीअनुसार बजार खुलेको एक घण्टाभित्र परिसूचक ४ प्रतिशतले बढेमा २० मिनेटका लागि, दुई घण्टाभित्र ५ प्रतिशतले बढेमा ४० मिनेटका लागि, र ६ प्रतिशतले बढेमा दिनभरका लागि कारोबार स्थगित गरिन्छ।