Dhulikhel Eco Banner new

एसइई परीक्षा सुरु, नयाँ व्यवस्थाले पारदर्शिता र छिटो नतिजामा जोड

पारदर्शी र प्रभावकारी बनाउने लक्ष्यसहित नयाँ निर्देशिका लागू

1.22K
shares

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशभर एकै समयमा सञ्चालनमा आएको छ। यस वर्ष परीक्षा व्यवस्थापनलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्यसहित नयाँ निर्देशिका लागू गरिएको छ, जसले अनियमितता न्यून पार्दै छिटो नतिजा प्रकाशनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयका अनुसार बिहान ८ बजेदेखि देशभरका १ हजार ९६६ केन्द्रबाट परीक्षा सुरु भएको हो। परीक्षा नियन्त्रक टुकराज अधिकारी ले यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएको जानकारी दिएका छन्। तीमध्ये नियमिततर्फ ४ लाखभन्दा बढी र ग्रेड सुधारतर्फ ७० हजारभन्दा बढी विद्यार्थी रहेका छन्। सहभागीमध्ये छात्राको संख्या केही बढी देखिएको छ।

परीक्षालाई सुरक्षित र मर्यादित बनाउन प्रत्येक केन्द्रमा सुरक्षाकर्मी, निरीक्षक तथा अन्य आवश्यक जनशक्ति खटाइएको छ। प्रश्नपत्रहरू सबै प्रदेशका केन्द्रमा समयमै पुर्‍याइएको छ भने विदेशस्थित जापानबाट समेत विद्यार्थीहरूले परीक्षा दिइरहेका छन्।

यस वर्षको विशेषता भनेको उत्तरपुस्तिका परीक्षण प्रणालीमा गरिएको सुधार हो। परीक्षा सम्पन्न भएको तीन दिनभित्रै परीक्षण सक्ने लक्ष्य राखिएको छ। उत्तरपुस्तिका सिलबन्दी गरी सुरक्षित रूपमा सम्बन्धित निकायमा पठाइनेछ र परीक्षण प्रक्रिया सिसिटिभी जडित कक्षमै गरिनेछ। परीक्षकलाई मोबाइलजस्ता उपकरण प्रयोग गर्न रोक लगाइएको छ भने कुनै पनि लापरवाही वा अनियमितता भेटिए कडा कारबाही गरिने व्यवस्था गरिएको छ।

परीक्षा केन्द्रभित्र अनावश्यक भीड र अवरोध रोक्न यस वर्ष सामूहिक अनुगमनमा प्रतिबन्ध लगाइएको छ। अनुगमनको जिम्मेवारी जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको समितिलाई दिइएको छ।

आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ। निर्धारित तालिका अनुसार चैत २९ गतेसम्म परीक्षा जारी रहनेछ। नयाँ व्यवस्थासँगै यस वर्षको एसइई परीक्षा अझ विश्वसनीय, व्यवस्थित र परिणाममुखी हुने विश्वास गरिएको छ।