Dhulikhel Eco Banner new

धितोपत्र बोर्डमा पाँच कम्पनीको आईपीओ प्रस्ताव

नयाँ कम्पनीहरू बजार प्रवेशको तयारीमा

988
shares

काठमाडौं । पूँजी बजारमा नयाँ कम्पनीहरूको प्रवेश क्रम जारी रहँदा पाँच कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्। ती कम्पनीहरूले अंकित मूल्य १०० रुपैयाँमै शेयर जारी गर्ने प्रस्ताव गरेका छन्, जसको कुल रकम १ अर्ब रुपैयाँभन्दा बढी रहेको छ।

बुढानिलकण्ठ हेरिटेज लिमिटेडले सबैभन्दा ठूलो परिमाणमा आईपीओ ल्याउने योजना बनाएको छ। कम्पनीले ४९ लाख ५० हजार कित्ता शेयर निष्कासन गरी ४९ करोड ५० लाख रुपैयाँ संकलन गर्ने प्रस्ताव गरेको हो। यसको सेयर बिक्री व्यवस्थापन ग्लोबल आइएमई क्यापिटलले गर्नेछ।

त्यस्तै, नेशनल वायोटेक लिमिटेडले १० लाख कित्ता शेयरमार्फत १० करोड रुपैयाँ उठाउने योजना अघि सारेको छ। यस कम्पनीको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ। जलविद्युत क्षेत्रमा क्रियाशील सभापोखरी हाइड्रोपावर लिमिटेडले पनि १० लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्दै १० करोड ७५ लाख रुपैयाँ संकलन गर्ने तयारी गरेको छ, जसको व्यवस्थापन आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ।

नवीकरणीय ऊर्जातर्फ लगानी बढाउने उद्देश्यसहित पशुपति रिन्यूएबल्स लिमिटेडले १४ लाख ४० हजार कित्ता शेयरमार्फत १४ करोड ४० लाख रुपैयाँ जुटाउने प्रस्ताव गरेको छ। यसको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। यस्तै, इष्टर्न साहारा कम्पनी लिमिटेडले २७ लाख ५० हजार कित्ता शेयर निष्कासन गरी २७ करोड ५० लाख रुपैयाँ उठाउने लक्ष्यसहित आवेदन दिएको छ, जसको बिक्री व्यवस्थापन पनि ग्लोबल आइएमई क्यापिटलले गर्नेछ।

यी कम्पनीहरूको प्रस्ताव धितोपत्र बोर्डको स्वीकृतिपछि मात्रै सार्वजनिक निष्कासनमा जानेछ। पछिल्लो समय विभिन्न क्षेत्रका कम्पनीहरू पूँजी बजारमार्फत लगानी जुटाउने क्रममा रहेकाले आगामी दिनमा आईपीओ बजार अझ सक्रिय हुने संकेत देखिएको छ।