Dhulikhel Eco Banner new

प्रभु महालक्ष्मी लाइफद्वारा ४% बोनस शेयर डिम्याट खातामा जम्मा

949
shares

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि वितरण गरेको ४ प्रतिशत बोनस शेयर आफ्ना शेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा पठाएको छ। कम्पनीले साधारण सभाबाट पारित बोनस शेयर अब अभौतिक रूपमा कारोबारयोग्य बनाइएको जानकारी दिएको छ।

कम्पनीका अनुसार तोकिएको मितिसम्म कायम रहेका लगानीकर्ताहरूको खातामा बोनस शेयर स्वतः जम्मा गरिएको हो। नेपाल स्टक एक्सचेञ्ज तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडमार्फत सूचीकृत भइसकेपछि ती शेयरहरू कारोबारका लागि पनि खुला भएका छन्।

धितोमा राखिएका शेयरधनीहरूको हकमा भने बोनस शेयर सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का राखेर खातामा पठाइएको छ। ऋण चुक्ता गरिसकेका लगानीकर्ताहरूले आफ्नो शेयर फुकुवा गर्न सम्बन्धित संस्थामा सम्पर्क गर्नुपर्ने कम्पनीले जनाएको छ।

यसैबीच, हालसम्म डिम्याट नगरेका शेयरधनीहरूलाई यथाशीघ्र अभौतिकरण प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ। कम्पनीले आगामी दिनमा पनि सम्पूर्ण सेवा प्रवाहलाई सहज बनाउन प्रविधिमैत्री प्रणालीलाई प्राथमिकता दिने जनाएको छ।