प्रधानमन्त्रीमाथि अपशब्द प्रयोग गर्दै भिडियो बनाउने युट्युबर पक्राउ
वि.सं.२०८२ चैत २९ आइतवार ११:२७
shares

काठमाडौं, २९ चैत । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ लगायतका नेताहरूमाथि गालीगलौज तथा अपमानजनक सामग्री प्रसारण गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन्।
पाँचथर जिल्ला प्रहरी कार्यालयको टोलीले रोशन पोखरेल लाई पक्राउ गरेको हो। उनी फाल्गुनन्द गाउँपालिका–७ निवासी रहेका छन्।
प्रहरीका अनुसार उनलाई साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न नियन्त्रणमा लिइएको हो। नेपाल प्रहरी साइबर ब्युरो बाट प्राप्त अनुसन्धान प्रतिवेदनका आधारमा पक्राउ गरिएको जनाइएको छ।
पक्राउ परेका पोखरेललाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार उनले सञ्चालन गर्दै आएको ‘hades’ नामक युट्युब च्यानलमार्फत आपत्तिजनक तथा अपमानजनक सामग्री प्रसारण गरेको खुलेको छ।
यस घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।


















