वाणिज्य विभागद्वारा ५४ फर्मलाई सुधारात्मक निर्देशन
वि.सं.२०८३ वैशाख १ मंगलवार १०:४६
shares

काठमाडौं, १ वैशाख । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई थप सक्रिय बनाएको छ। विभागले सोमबार एकैदिन काठमाडौँ महानगरपालिका–१४ अन्तर्गत खसीबजार आसपासका क्षेत्रमा ५४ वटा व्यापारिक प्रतिष्ठान र फर्ममा अनुगमन गरेको जनाएको छ।
कालोबजारी नियन्त्रण, अखाद्य वस्तुको बिक्री–वितरण रोकथाम तथा उपभोक्ताको अधिकार संरक्षण गर्ने उद्देश्यले गरिएको अनुगमनमा विभिन्न फर्महरूलाई सुधारात्मक निर्देशन दिइएको विभागले जानकारी दिएको छ।
उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम अनुगमन गरिएको र आवश्यक कारबाही तथा निर्देशन दिइएको विभागले उल्लेख गरेको छ।
अनुगमनका क्रममा उपभोक्ता अधिकारकर्मी तथा सम्बन्धित सरोकारवालाहरूको समेत सहभागिता रहेको थियो। विभागले बजारलाई व्यवस्थित र पारदर्शी बनाउन नियमित रूपमा यस्ता अनुगमनलाई निरन्तरता दिने जनाएको छ।


















