टक्सार पिखुवा खोला हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ वैशाख २३ गतेदेखि निष्कासन गर्ने
वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:०२
shares

काठमाडौं, ११ वैशाख । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) वैशाख २३ गतेदेखि खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणअन्तर्गत प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो।
कम्पनीले १ अर्ब २० करोड रुपैयाँ जारी पूँजीको ३५.२६ प्रतिशत बराबर ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँको आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४२ लाख ३० हजार ६६८ कित्ता शेयर जारी गरिनेछ।
यसअघि प्रथम चरणमा जारी पूँजीको १० प्रतिशत बराबर १२ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दालाई वितरण गरिएको थियो भने सार्वजनिक निष्काशन गरिने कुल शेयरको १० प्रतिशत अर्थात ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको थियो।
अब कम्पनीले ५ प्रतिशत अर्थात १ लाख ५१ हजार ५३३ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात ६० हजार ६१३ कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरेको छ। बाँकी रहेको २५ लाख १५ हजार ४५५ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिनेछ।
सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन वैशाख २३ गतेदेखि खुला हुनेछ। छिटोमा वैशाख २८ गते निष्काशन बन्द हुने व्यवस्था रहेको छ भने उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा ढिलोमा जेठ ६ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।



















