Dhulikhel Eco Banner new

सरकारद्धारा २५ सहसचिवको एकैपटक सरुवा

1.57K
shares

काठमाडौं, ११ वैशाख । सरकारले उच्च प्रशासनिक तहमा व्यापक हेरफेर गर्दै एकैपटक २५ जना सहसचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका पाँच जना सहसचिवसहित कुल २५ जनालाई विभिन्न मन्त्रालय तथा प्रदेशका कार्यालयहरूमा खटाउने निर्णय गरेको हो।

निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा कार्यरत प्रदीप परियारलाई सोही कार्यालयमा स्थायी रूपमा सरुवा गरिएको छ। लामो समयदेखि काजमा कार्यरत परियार अब औपचारिक रूपमा सोही जिम्मेवारीमा रहने भएका छन्।

अर्थ मन्त्रालयका पाँच जना सहसचिवलाई भने प्रदेशतर्फ पठाइएको छ। सेवन्तक पोखरेल र महेश बराललाई मधेश प्रदेशमा सरुवा गरिएको छ भने महेश भट्टराईलाई बागमती प्रदेश, मदन दाहाललाई सुदूरपश्चिम प्रदेश र सुशीला अर्याललाई लुम्बिनी प्रदेशमा खटाइएको छ। सरुवा गरिएका मध्ये महेश भट्टराई र सेवन्तक पोखरेल आगामी आर्थिक वर्षको बजेट लेखन समितिमा समेत संलग्न रहेका थिए।

सरकारले प्रदेशगत रूपमा सहसचिवहरूको बाँडफाँड पनि गरेको छ। मधेश र लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ५–५ जना सहसचिव खटाइएका छन् भने बागमती प्रदेशमा ४ जना पठाइएको छ। त्यस्तै, कोशी र गण्डकी प्रदेशमा २–२ जना तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक–एक जना सहसचिव सरुवा गरिएको छ।

सरकारको यो निर्णयलाई प्रशासनिक संरचनामा सन्तुलन कायम गर्ने र प्रदेशस्तरमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यसँग जोडेर हेरिएको छ।