Dhulikhel Eco Banner new

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा ठगी गर्ने व्यवसायीमाथि कारबाही, १४ लाख बढी जरिबाना

1.52K
shares

काठमाडौं, ११ वैशाख । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रका होटल तथा व्यावसायिक फर्महरूमाथि आकस्मिक अनुगमन गर्दै उपभोक्ता ठगीमा संलग्न व्यवसायीहरूलाई कारबाही गरेको छ। बिहीबार गरिएको अनुगमनका क्रममा उपभोक्ता हित विपरीतका गम्भीर गतिविधि फेला परेपछि पाँचवटा फर्मलाई कुल १४ लाख ५ हजार रुपैयाँ नगद जरिबाना गरिएको विभागले जनाएको छ । एक प्रतिष्ठित होटललाई स्पष्टीकरणका लागि विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

अनुगमनका क्रममा विभिन्न फर्महरूले सामानमा अधिकतम खुद्रा मूल्य उल्लेख नगरेको, पुरानो मूल्य छोपेर नयाँ स्टिकर टाँसी महँगोमा बिक्री गरेको, एउटै वस्तुमा दोहोरो मूल्य राखेको तथा तोकिएको एमआरपीभन्दा बढी मूल्य असुल गरेको भेटिएको विभागले जनाएको छ। यसका साथै म्याद सकिएका तथा मानव स्वास्थ्यमा हानिकारक वस्तु बिक्रीका लागि राखिएको समेत फेला परेको छ।

सान इन्टरप्राइजेज, ओरियन्टल होटल्स, टी थ्री थकाली ग्रुप र साई किरण इन्टरप्राइजेजलाई जनही ३ लाख रुपैयाँका दरले जरिबाना गरिएको छ भने होटल सोनिगः प्रालिलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना गरिएको छ। यी फर्महरूले उपभोक्ता संरक्षण ऐन, २०७५ उल्लंघन गरेको ठहर गर्दै कानुन बमोजिम कारबाही गरिएको विभागले जनाएको छ।

अनुगमनका क्रममा कैफियत देखिएपछि सोल्टी होटल लिमिटेडलाई २४ घण्टाभित्र आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । विभागले उपभोक्ता अधिकार संरक्षणका लागि यस्ता अनुगमनलाई निरन्तरता दिने बताएको छ।