Dhulikhel Eco Banner new

समस्याग्रस्त सहकारीका ऋणीलाई तत्काल कर्जा भुक्तानी गर्न समितिको निर्देशन

2.29K
shares

काठमाडौं, २२ वैशाख । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारी संस्थाबाट कर्जा लिएर नतिरेका ऋणीहरूलाई तत्काल कर्जा भुक्तानी गर्न निर्देशन दिएको छ।

समितिले जारी गरेको सूचनामा समस्याग्रस्त सहकारीबाट लिएको कर्जाको साँवा, ब्याज तथा हर्जाना समयमै तिर्न सबै ऋणीलाई आग्रह गरिएको छ। सहकारी ऐन २०७४ को दफा १०४ अनुसार समस्याग्रस्त घोषणा भएका सहकारीहरूको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी प्रक्रिया अघि बढाइरहेको भन्दै यो निर्देशन दिइएको हो।

समितिले सहकारीका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक तथा जमानीकर्ताहरूलाई पनि कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।

सूचनामा समयमै कर्जा नतिरे धारा, बत्ती, सिफारिसलगायतका सार्वजनिक सेवा रोक्का गरिन सक्ने चेतावनी दिइएको छ। साथै, सम्पर्कमा नआउने ऋणी तथा सञ्चालकहरूको नाम सार्वजनिक गर्ने, कालोसूचीमा राख्ने, सम्पत्ति लिलाम गर्ने तथा कानुनी कारबाहीस्वरूप जरिबाना र कैद सजायसमेत हुन सक्ने उल्लेख गरिएको छ।

समितिका अनुसार हाल यसको मातहतमा २० वटा समस्याग्रस्त सहकारी संस्था रहेका छन्। ती सहकारीबाट करिब ६२ हजार बचतकर्ताले झण्डै ४० अर्ब रुपैयाँ बचत फिर्ता माग गर्दै आवेदन दिएका छन्।