Dhulikhel Eco Banner new

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

624
shares

स्नो रिभर्स लिमिटेड ले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर बाँडफाँट गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७ लाख ७८ हजार १२५ कित्ता शेयर निष्काशन गरेको छ। कुल १८ लाख ७५ हजार कित्ता आईपीओमध्ये केही हिस्सा स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीका लागि छुट्याइसकेपछि बाँकी शेयर सर्वसाधारणमा बिक्री खुला गरिएको हो।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने बताइएको छ।

कम्पनीले सञ्चालन गरिरहेको १३.५ मेगावाट क्षमताको ‘सुपर काबेली खोला ए’ जलविद्युत् आयोजनाको कुल लागत करिब २ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। आयोजनाको लगानी फिर्ता अवधि ८.१७ वर्ष रहने प्रक्षेपण गरिएको छ।

आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ मार्फत आवेदन दिन सक्नेछन्।