एलएस होराइजन १२’ मा उच्च आकर्षण, मागभन्दा धेरै आवेदन परेपछि छिट्टै बन्द गरियो निष्कासन
वि.सं.२०८३ जेठ ७ बिहीवार ०८:००
shares

पूँजी बजारमा सामूहिक लगानी योजनाप्रति लगानीकर्ताको आकर्षण बढ्दै गएको संकेत गर्दै ‘एलएस होराइजन १२’ योजनामा अपेक्षाभन्दा उच्च आवेदन परेको छ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको उक्त बन्दमुखी योजनाको इकाई बिक्री निर्धारित समयअघि नै बन्द गरिएको कम्पनीले जनाएको हो ।
वैशाख ३० गतेदेखि सार्वजनिक निष्कासन खुला गरिएको योजनामा केही कार्यदिनभित्रै १ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको आवेदन परेपछि आवेदन प्रक्रिया समयअगावै बन्द गरिएको कम्पनीले जनाएको छ ।
लक्ष्मी सनराइज बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको योजनाले कुल १२ करोड इकाई निष्कासन गरेको थियो । त्यसमध्ये १ करोड ८० लाख इकाई बीज पूँजीका रूपमा लक्ष्मी सनराइज बैंकका लागि सुरक्षित गरिएको थियो भने बाँकी १० करोड २० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको थियो ।
योजनामा लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । आवेदन संकलन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाका आस्वा सेवा केन्द्रमार्फत गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार छोटो अवधिमै देखिएको उच्च आवेदनले नेपाली लगानीकर्ताको सामूहिक लगानी योजनाप्रतिको भरोसा बढ्दै गएको संकेत गरेको छ । पछिल्लो समय ब्याजदर घट्नु, वैकल्पिक लगानी क्षेत्रको खोजी तथा पूँजी बजारमा सुधारको अपेक्षाले म्युचुअल फन्ड योजनातर्फ लगानीकर्ताको आकर्षण बढिरहेको विश्लेषण गरिएको छ ।
उक्त योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी पनि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले नै सम्हालेको थियो ।















