Dhulikhel Eco Banner new

मौसम पूर्वानुमान: पहाडमा वर्षाको सम्भावना, तराईमा गर्मी

1.48K
shares

उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको संयुक्त प्रभावले देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बादल छाउन थालेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै कोशी र बागमती प्रदेशका उच्च भूभागमा पनि आकाश मेघाच्छादित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली इलाकाका छरिएका ठाउँमा चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले बताएको छ । आज दिउँसो हिमाल र पहाडमा बादलकै प्रभुत्व रहने अनुमान छ, जबकि तराई भूभागमा भने आंशिक बादल मात्र देखिने सम्भावना छ ।

दिउँसोको अवधिमा हिमाली र पहाडी क्षेत्रका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई ठाउँमा चट्याङसहित मध्यमस्तरसम्मको वर्षा हुन सक्ने पूर्वानुमान रहेको छ । अर्कोतर्फ कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रमा भने आज पनि कडा गर्मी खप्नुपर्ने अवस्था रहने महाशाखाले सचेत गराएको छ ।

रातको समयमा हिमाली क्षेत्रमा बादल कायम रहने, पहाडमा आंशिक बादल देखिने र तराईमा मौसम प्रायः सफा रहने अनुमान छ । तथापि कोशी प्रदेशका हिमाली र पहाडी इलाकाका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका छिटपुट स्थानमा हल्का वर्षाको सम्भावना भने रहेको छ ।