रेमिट्यान्स र आयातको भरमा चलेको नेपाली अर्थतन्त्र : राष्ट्र बैंक
उत्पादनशीलता विश्वकै न्यूनमा, बाह्य स्थिरता भित्री कमजोरी लुकाउन नसकेको निष्कर्ष
वि.सं.२०८३ जेठ २१ बिहीवार ०९:०९
shares

नेपाल राष्ट्र बैंकले देशको अर्थतन्त्र बाहिरबाट भलै स्थिर देखिए पनि भित्री तहमा उत्पादनशीलता, दिगोपन र संरचनागत रूपान्तरणका गम्भीर समस्या ज्यूँकात्यूँ रहेको ठहर गरेको छ। केन्द्रीय बैंकका निर्देशक डा. राजनकृष्ण पन्तले तयार गरेको कार्यपत्रमा विगत चार दशकको वित्तीय तथा आर्थिक इतिहास खोतल्दै यस्तो निचोड निकालिएको हो।
‘नेपालमा आर्थिक स्थिरता र केन्द्रीय बैंकिङ : उपलब्धि तथा भावी दिशा’ शीर्षकको सो कार्यपत्र (नम्बर ६३) ले अर्थतन्त्रको वृद्धि मुख्यतः रेमिट्यान्सले थेगेको उपभोगमा टिकेको औंल्याएको छ। कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ८५ प्रतिशतभन्दा बढी हिस्सा एक्लो उपभोगले ओगट्ने गरेकोमा उत्पादनमूलक लगानी र औद्योगिक विस्तार भने निकै पछाडि परेको अध्ययनमा जनाइएको छ।
“अर्थतन्त्रलाई दिगो र समावेशी बनाउने हो भने रेमिट्यान्स र आयातमा आधारित वृद्धिबाट उत्पादन तथा लगानीमा आधारित वृद्धितर्फ रूपान्तरण अपरिहार्य छ।”
दीर्घकालीन औसत आर्थिक वृद्धिदर ४.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। पछिल्लो दशकमा यो वृद्धि देख्दाखेरी स्थिर लागे पनि त्यसको जग भने खुट्किलो रहेको अध्ययनको ठहर छ। श्रम उत्पादकत्व तथा कुल उत्पादनशीलता विश्वकै न्यून स्तरमध्ये एकमा गनिएको छ। छिमेकी र समकक्ष देशका तुलनामा नेपालको कृषि तथा उद्योग क्षेत्रमा प्रति श्रमिक उत्पादन झनै कम भएको देखाइएको छ। ऊर्जा आपूर्तिमा केही सुधार भए पनि प्रविधि प्रयोग, यान्त्रीकरण र नवप्रवर्तनमा गरिने लगानी अपुग रहेकाले उत्पादकत्व उठ्न नसकेको अध्ययनको निचोड छ।
अर्थशास्त्रमा ‘प्रिम्याच्योर डिइन्डस्ट्रियलाइजेसन’ भनिने अवस्था — अर्थात् पर्याप्त विकास नहुँदै औद्योगिक क्षेत्र खुम्चिने प्रक्रिया — नेपालमा सुरु भइसकेको राष्ट्र बैंकले ठहर गरेको छ। उत्पादनमूलक उद्योगले जीडीपीमा पार्ने योगदान लगातार घट्दो छ भने रोजगारी सिर्जना र निर्यात प्रवर्द्धनमा उद्योग क्षेत्र अपेक्षित भूमिकाबाट पर रहेको कार्यपत्रमा उल्लेख छ।
व्यापार असन्तुलनको चित्र पनि सोचनीय छ। एकातिर आयात निरन्तर फुलिरहेको छ, अर्कातिर निर्यात केही सीमित वस्तुमा थुनिएको छ। घरेलु उद्योगले आन्तरिक मागसमेत धान्न नसक्दा कच्चा पदार्थदेखि उपभोग्य सामानसम्म विदेशबाट मगाउनुपर्ने बाध्यता छ। परिणामस्वरूप विदेशी मुद्रा आर्जनको जग खुम्चिँदै गएको राष्ट्र बैंकको भनाइ छ।
रेमिट्यान्सले गरिबी घटाउन, विदेशी मुद्रा थुपार्न र परिवारको दैनिकी सहज बनाउन उल्लेखनीय योगदान पुर्याएको कुरा कार्यपत्रले स्वीकार गरेको छ। तथापि यही रेमिट्यान्समाथिको अत्यधिक निर्भरता दीर्घकालीन जोखिम पनि बोकेको ठहर गरिएको छ। विदेशी श्रम बजारमा संकट आए देशभित्र सोझो धक्का लाग्ने, जनशक्ति पलायनले कृषि र उद्योगमा मानव संसाधन अभाव गहिरिने र निर्यात प्रतिस्पर्धा कमजोर पर्ने जोखिमहरू अध्ययनले देखाएको छ।
वित्तीय क्षेत्रतर्फ भने राष्ट्र बैंकले पछिल्ला चार दशकमा उल्लेखनीय प्रगति गरेको तथ्य कार्यपत्रले स्वीकारेको छ। बैंक तथा वित्तीय संस्थाको जालो फैलिएको, डिजिटल भुक्तानी प्रणाली विकसित भएको र वित्तीय पहुँच बढेको सकारात्मक पाटो कार्यपत्रमा उल्लेख गरिएको छ। यद्यपि निष्क्रिय कर्जा सन् २०२२ को १.३ प्रतिशतबाट यो वर्ष ४.६२ प्रतिशत पुग्नु, प्रणालीमा तरलता थुप्रिए पनि कर्जा माग नउठ्नु, सहकारी क्षेत्रको कमजोरी, साइबर सुरक्षा जोखिम र वित्तीय अपराधजस्ता समस्याले वित्तीय स्थिरतालाई चुनौती दिइरहेका छन्।
यस्तो अवस्थामा आर्थिक स्थिरता कायम राख्ने एउटै लक्ष्य पर्याप्त नभएको राष्ट्र बैंकले स्पष्ट पारेको छ। उत्पादनशीलता बढाउन, उद्योगलाई पुनर्जीवन दिन, निर्यात विस्तार गर्न, प्रविधिको उपयोग विस्तार्न र वित्तीय जोखिम व्यवस्थापन सुदृढ बनाउन केन्द्रित नीतिगत सुधार आजको माग भएको अध्ययनको निष्कर्ष छ।
















