वित्तीय क्षेत्रमा खुइल्याउने नीति : नठोकी त विज्ञापन नै झर्दैन !
बैंकको दुश्मन बैंक, बीमाका शत्रु बीमा
वि.सं.२०७९ असार २१ मंगलवार १९:४३
shares

एक दिन एक जना पत्रकार साथीसँग चिया खाँदै गर्दा उनको ह्वाट् एपमा टुङटुङ मेसेज आयो । अर्काको पर्सनल मेसेज सँगै भएपनि चासो दिने कुरा भएन । म आफ्नै सुरमा चियाको चुस्की लिदै थिएँ । उनले यता हेर त, भन्दै मेसेज देखाए ।
मेसेजमा ति साथीकै सञ्चारमाध्यममा प्रकाशित एउटा समाचार पठाइएको थियो, अनि तल लेखिएको थियो, ‘वाउँ’ । यताबाट साथीले मलाई देखाउँदै मेसेज लेखे, ‘ठिक छ दाइ ?’ उताबाट अर्को मेसेज आयो ‘एकदमै ठिक छ, अरु पनि लेख्नु पर्यो ।’
समाचार एनआईशी एशिया बैंकका विषयमा थियो । झट्ट हेर्दा एनआईशी एशिया बैंक बद्नाम बैंक भन्ने तरिकाले लेखिएको समाचारका विषयमा उत्साहित बनेर मेसेज लेख्ने व्यक्ति चाहिँ एक बीमा कम्पनीको विभागीय प्रमुख थिए ।
मार्केटिङमा लामो अनुभव भएको भनेर आफैले आफ्ना समाचारहरु विभिन्न सञ्चारमाध्यममा छपाउन सफल ति व्यक्ति केही समय अघि प्रमुख मध्येको एक बीमा कम्पनीको ब्राण्ड हेडको रुपमा कार्यरत थिए ।
उनले थप समाचार लेख्न उत्साहित बनाउन खोजिरहेको कुरा उनको मेसेजमा प्रष्ट देखिन्थ्यो । पछि मैले थाहाँ पाए ति व्यक्तिले आफैले छाडेको संस्थाका विषयमा पनि नकरात्मक समाचार लेख्न आफूसँग नजिक भएका केही पत्रकारहरुलाई उक्साउने रैछन ।
यो त भयो, बैंकको नराम्रो चाहाने बीमाका कर्मचारीको कुरा । नेपालमा यस्ता घटनाहरु पनि छन्, जहाँ बैंकका शत्रु बैंक र बीमाका दुश्मन बीमा जस्तै बनेका छन् ।
एक बैंकका कर्मचारीहरुले अर्का बैंकको विषयमा नराम्रो लेख्न उक्साउने । एक बीमा कम्पनीका कर्मचारीहरुले अर्को बीमा कम्पनीका विषयमा मनपरी लेखाउन जोड गराउने । एक दिन एक बैंकका सीईओले चिया खाने प्रस्ताव गरे ।
त्यसबेला म अनलाइनखबरमा कार्यरत थिएँ । भेट्नका लागि उनको बैंकको प्रधान कार्यालयमा पुगेँ । म भन्दा पहिले पालो कुरेर केहीँ मान्छेहरु पर्खिरहेका थिए । म पुग्ने वित्तिकै सायद सिसिटिभिमा देखेछन् क्यारे, उनको सेक्रेटरीलाई फोन गरेर भित्र पठाइदिन भने ।
आफू भन्दा पहिले पालो कुरेर बसिरहेका मान्छेलाई ओभरट्रयाक गर्दै म सीईओको कार्यकक्षमा पसेँ । ‘चिया कफी के खाउँ ?’ उनको प्रश्नको जवाफ दिदै भने, ‘कफि नै खानुपर्छ होला ।’ उनले २ कप कफी अर्डर गरे अनि सुरु भयो गफ ।
बैंकिङ क्षेत्रको वर्तमान अवस्थाबाटै कुराकानीको सुरुवात भयो । केही मिनेट तरलता समस्याका विषयमा छलफल भयो । ‘बैंकहरु पनि खत्तम नै भए, मनपरी छ, राष्ट्र बैंकले हेर्दैन ।’ उनको भनाइ यतिमा रोकिएन । ‘साँची त्यो, सामाजिक सुरक्षा कोषवाला केश त थाहाँ छ नि तपाईलाई ?’
‘हजुर सर, किन थाहाँ नहुनु !’ मैले राम्ररी जानकारी भएको भन्दै टाउको हल्लाएँ । उनको संकेत दुई बैंकतिर थियो, एउटा ग्लोबल आइएमई र अर्को सनराइज बैंक । निकैबेर उनले भट्याए ।
मैले सुनिरहे । मैले हो मा हो मिलाउदा उनी उत्साहित थिएँ । निकैबेरको भाषण पछि उनले यी बैंकका विषयमा ‘ठोकेर’ अर्थात नकरात्मक असर गर्नेगरी लेख्न मलाई सुझाए ।
मैले हुन्छ वा हुन्न केही नभनी कार्यालयतिर गएँ । उनीसँगको करिब ४५ मिनेटको बसाईमा अन्य बैंकहरुलाई नकरात्मक लेख्न प्रोत्साहन मात्रै गरेका थिए ।
पछि खै लेख्नु भएन त ? भनेर उनले फोन पनि गरेका थिए । ‘हाम्रो झोले अनलाइन होइन, रिस उठ्यो भनेर मनपरी लेख्न मिल्दैन’ भनेपछि उनी फायर भए । उनीसँगको दूरी केही बढ्यो ।
आफूले बैंक छाडे पछि त्यहीँ बैंकका विषयमा मनपरी लेखिदिए हुन्थ्यो भन्नेहरु पनि धेरै छन् बजारमा । नकरात्मक लेख्न उक्साउनेहरु सीईओ भन्दा पनि विभागीय प्रमुख वा सो सरहका कर्मचारीहरु धेरै हुन्छन् ।
यहाँ खुइल्याउने न्युज लेख्नमात्रै होइन कुनै बैंक वा बीमा कम्पनीको बारेमा सकारात्मक किसिमको समाचार आयो भने रिस गर्नेको जमात पनि उस्तै छ ।
एक दिन एक बैंकका सीईओको विषयमा मैले स्टोरी लेखेँ । सीईओ र बैंकले भोगेका चुनौती र तिनका सफलताका विषयवस्तुहरु स्टोरीमा समेटिएको थियो । स्टोरी प्रकाशन भएको केही घण्टामै एक बैंकका अति नै मिलनसार सिनियर लेभलका कर्मचारीले दुखेसो पोखे ।
‘यो त अति नै भयो, तपाई जत्तिको पत्रकारले एउटा बैंकको मात्रै यसरी लेख्न मिल्छ यार ?’ केहीबेर उनीसँग चर्काचर्की जस्तै भयो । लामो समय सम्झाउने, बुझाउने कोशिस गर्दा पनि म कन्भिन्स गराउन असफल भएँ । न त उनले नै मलाई आफ्नो कुरामा कन्भिन्स गराउन सके । उनीसँग लामै समय बोलचाल बन्द जस्तै भयो ।
पछि एउटा विषयवस्तु छ, समाचार लेखिदिनु पर्यो भन्दै फोन गरे । हुन्छ इमेल गरिदिनु भनेँ । होइन भेटेरै दिन्छु भने पछि बानेश्वरको ‘रोयल एलिनाज’ क्याफेमा भेटियो । उनले ‘ए–फोर’ साइजका पेपरमा धेरै कुराहरु प्रिन्ट गरेर बोकेका रहेछन् ।
‘फोनमा पनि भन्न नमिल्ने भएर भेटौं भनेको’ उनले सुनाए । कागजातहरु हेरियो । उनले लेखाउन चाहेका समाचार भने अर्को बैंकको विषयमा रहेछ ।
यसो हेर्दा गलत नियतले लेखाउन खोजिएको प्रष्टै बुझेँ । लौ यो विषय यहीँ अन्त्य गरौं भन्न्पर्यो । समाचार श्रोतको रक्षा गर्नु, हामी पत्रकारको धर्म हो । यसकारण उनीसँग मैले माफी माग्दै अरु वास्तिक समाचार भए भन्नुहोला भनेँ ।
बैंकहरुको नराम्रो बानी
एकदिन एक जना विज्ञापन एजेन्सी चलाउने साथीले फोन गरे । ‘मेरो क्लाइन्टका विषयमा मनपरी समाचार आएको रहेछ, के गरी मिलाउने ?’ उनको कुरा सुनरे म रणभुल्लमा परेँ । उनको क्लाइन्ट भनेको एक बैंक रहेछ । अनि त्यस बैंकको विषयमा एक सञ्चारमाध्यममा समाचार प्रकाशन भएको रहेछ ।
बैंक र बैंकका कार्यकारी प्रमुखको विषयमा लेखिएको समाचार मैले चिनाजनकै व्यक्तिको सञ्चारमाध्यममा प्रकाशन भएको रहेछ । चिनजानकै मान्छे भनेपछि उनले मलाई कसरी हुन्छ मिलाइदिनु पर्छ भने । अब मैले कसरी मिलाउने ? म झन तीन छक्क परेँ ।
मैले समाचारको विषयमा केही आपत्ति भए म नम्बर दिन्छु, बैंकको मान्छेलाई कुरा गर्न लगाउनु भने । पछि अनौपचारिक रुपमा मैले जानकारी पाए अनुसार, दुई पक्षको समझदारी भएछ । बैंक पहिलो पक्ष, अनि समाचार लेख्ने दोस्रो पक्ष । विज्ञापन एजेन्सीवाला चाहिँ साक्षी । भद्र सहमति अनुसार बैंकले राम्रै दामको विज्ञापन दिएछ ।
पछि ति एजेन्सीवाला साथीले सुनाउथे, बैंकहरु पनि नराम्रो समाचार नआएसम्म केही भन्दैनन्, आएपछि तनाब दिन्छन् । जेहोस् कुरा मिल्यो, एजेन्सीवाला पनि खुसी थिए । ‘यो जमाना नै यस्तै छ हजुर, राम्रो गर्यो धन्यबादसम्म पनि भन्दैनन्, नठोकी त विज्ञापन नै झर्दैन’ एक जना पुराना मित्रले सुनाउथे ।
सबैभन्दा नराम्रो बानी त बैंकको छ । नकरात्मक समाचार लेख्नेलाई विज्ञापन दाताहरुले नै प्रोत्साहन गरिरहेका छन् । निकै राम्रा–राम्रा विषयमा रिपोर्टिङ गर्ने सञ्चारमाध्यमहरु विज्ञापन दाताका नजरमा पर्दैनन् । जब कुनै सामान्य अनलाइनले मनपरी लेख्छ, अनि उसलाई बोलाएर विज्ञापन उपहार दिएर पठाउछन् ।
वेथितिका विषयमा कलम चलाउनु सञ्चारमाध्यम र पत्रकारको धर्म नै हो । तर कपोकल्पित र भ्रामक समाचार लेख्दा वेथितिकै विषयमा चलाइएका कलमप्रति पनि गलत नजरले हेरिन्छ कि भन्ने चिन्ता बढेको छ । यहाँ त, सहीँ समाचार लेखे पनि अब त विज्ञापनका लागि लेख्यो भन्ने ठानिन्छ भन्ने चिन्ता छ ।
मैले केटिएम भ्वाइस डटकम सञ्चालनमा ल्याए पछि धेरैले भन्थे, ‘अब त ड्याङ कि ड्याङ ठोक्ने होइन ?’ । केही बैंकर साथीहरुले केही बैंक र बीमा कम्पनीका विषयमा कडै समाचार हुने खालका विषय वस्तु समेत दिएका छन् ।
सबै विषयहरु रेकर्ड फाइलमा राखेको छु । केही विषयहरु साच्चिकै लेख्नै पर्ने खालका छन् । केही विषयहरु भने बैंक र बैंकका सीईओको रिसले समाचार लेखाउन खोजिएका जस्ता देखिन्छन् । साच्चिकै मनपरी भएका विषयहरुलाई बाहिर ल्याएर बद्मासी छताछुल्ल भने पार्नै पर्छ । तर, आफ्नो वा कसैको स्थार्थपुर्तिका लागि कसैको व्यवसायमा असर पर्ने गरी लेख्न भने सकिन्न ।















