इरान–अमेरिका वार्ता निष्कर्षविहीन, मतभेद कायमै
वि.सं.२०८३ असार ८ सोमवार ०७:५९
shares

काठमाडौं — स्विट्जरल्यान्डमा आइतबार इरान र संयुक्त राज्य अमेरिकाबीच भएको वार्ता कुनै ठोस निष्कर्षविना टुंगिएको छ। करिब ८० मिनेट चलेको छलफलमा ६० दिने युद्धविरामलाई दीर्घकालीन शान्ति सम्झौतामा बदल्ने प्रयास भए पनि दुबै पक्षबीच मतभेद देखिएको छ।
इरानले इजरायल–हेज्बुल्लाह द्वन्द्व पूर्ण रूपमा समाधान नभएसम्म थप वार्ता अघि नबढ्ने अडान लिएको छ। अमेरिकी पक्षले भने तीन मुख्य विषयमा वार्ता अड्किएको जनाएको छ।
होर्मुज स्ट्रेट खुला गर्ने विषय, दक्षिणी लेबनानमा युद्धविराम लागू गर्ने विषय तथा इरानको आणविक सम्झौता सम्बन्धी विवादमा सहमति हुन नसकेको बताइएको छ।
दुवै पक्षबीच अर्को चरणको वार्ता कहिले हुने भन्ने विषय भने अनिश्चित रहेको छ। मध्यस्थकर्ताका रूपमा पाकिस्तान र कतारका अधिकारीहरू सहभागी भएका थिए।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेज्बुल्लाहबारे चेतावनी दिएका थिए भने इरानले कुनै पनि सम्भावित संघर्षका लागि तयार रहेको प्रतिक्रिया दिएको छ।

















