सन नेपाल लाइफद्धारा शेयरधनीहरुलाई ६० प्रतिशत पूँजी वृद्धि गर्न अनुरोध
वि.सं.२०७९ असार २३ बिहीवार १६:१३
shares

काठमाडौं, २३ असार । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयरधनीहरुलाई ६० प्रतिशत पूँजी थप गर्न अनुरोध गरेको छ ।
बीमा समितिले तोकेको न्यूनतम चुक्तापूँजी रू. ५ अर्ब पुर्याउने उद्देश्यले कम्पनीले संस्थापक शेयरधनीसँग थप लगानी माग गरेको हो । यसका लागि असार ३० गतेभित्र सो रकम जम्मा गर्न कम्पनीले भनेको हो ।
यसअघि कम्पनीको वैशाख ९ गते सम्पन्न साधारण सभाले पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेपछि कम्पनीले सोही अनुसार संस्थापक शेयरधनीहरुबाट थप रकम जम्मा गर्न भनेको हो ।
यसको लागि संस्थापक शेयरधनीहरुले कम्पनीको वेबसाइटमा उपलब्ध शेयर लगानी फारम भरेर कम्पनीको खाता रहेको ग्लोबल आइएमई बैंकको डिल्लीबजार शाखा खाता नं १७०१०१७५०१३३८ र नबिल बैंकको तीनधारामा रहेको खाता नं ८०१०१००००२४४ मा रकम जम्मा गर्नुपर्ने छ ।
हाल कम्पनीको चुक्तापूँजी रू.१ अर्ब ४० करोड रहेको छ । त्यसको ६० प्रतिशत रकम अर्थात् रू.८४ करोड संस्थापक शेयरधनीबाट जुटेपछि यसको चुक्तापूँजी रू.२ अर्ब २४ करोड पूग्नेछ ।
यहि पूँजीको आधारमा कम्पनीले आईपीओ निष्कासन गर्नेछ । नियामक बीमा समितिले जीवन बीमा कम्पनीहरुको न्यूनतम पूँजी रू. ५ अर्ब पुर्याउन निर्देशन दिएसँगै पूँजी वृद्धि गर्न लागेको हो ।















