सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४६.६९ प्रतिशतले वृद्धि
प्रतिसेयर आम्दानी (ईपीएस) २३.८३ रुपैयाँ
वि.सं.२०८३ साउन ६ बुधवार १०:३७
shares

काठमाडौँ — सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८२–८३ मा ८८ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४६.६९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले ६० करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकको नाफा वृद्धिमा खुद ब्याज आम्दानी बढ्नु र इम्पेयरमेन्ट चार्ज घट्नु प्रमुख कारण बनेका छन्। खुद ब्याज आम्दानी २ अर्ब ७ करोड १४ लाख रुपैयाँबाट बढेर २ अर्ब ४२ करोड १ लाख रुपैयाँ पुगेको छ। यस्तै, अघिल्लो वर्ष ३४ करोड ५४ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज घटेर ९ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ।
बैंकले समीक्षा अवधिमा ५६ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब १० करोड रुपैयाँ जम्मा छ। रिटेन्ड अर्निङ ४९ करोड २३ लाख रुपैयाँ रहेको छ।
वित्तीय विवरणअनुसार बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २३.८३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६९.५० रुपैयाँ कायम भएको छ। लाभांश क्षमता पनि बढेर १३.१९ प्रतिशत पुगेको छ।
नाफा र आम्दानीमा सुधार आए पनि बैंकको निष्क्रिय कर्जा (एनपीएल) भने बढेको छ। अघिल्लो वर्ष ५.५२ प्रतिशत रहेको एनपीएल गत आर्थिक वर्षमा बढेर ६.८७ प्रतिशत पुगेको छ।



















