शतप्रतिशत सफलतासहित आईसास ब्यूटी स्कूलको पहिलो सिडेस्केको ब्याच दीक्षित
वि.सं.२०८३ साउन १८ सोमवार १३:३२
shares

काठमाडौँ, १८ साउन । नेपालको सौन्दर्य शिक्षाको क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्दै नयाँ बानेश्वरस्थित आईसास ब्यूटी स्कुलले नेपालकै पहिलो सिडेस्को सौन्दर्य थेरापी तथा मिडिया मेकअप ब्याचको दीक्षान्त समारोह सम्पन्न गरेको छ।
परीक्षामा सहभागी सबै १६ जना विद्यार्थी दीक्षित हुन सफल हुनु नै यस परीक्षाको मुख्य उपलब्धि रहेको छ । उत्तीर्ण हुन न्यूनतम ७० प्रतिशत अंक आवश्यक पर्ने परीक्षामा सबै १६ जना विद्यार्थीले ७५ प्रतिशतभन्दा बढी अंक प्राप्त गर्दै उत्कृष्ट नतिजा हासिल गरेको आइसासका प्रमुख कार्यकारी अधिकृत अजय अधिकारीले जानकारी दिए । सौन्दर्य थेरापी तथा मिडिया मेकअप परीक्षामा सहभागी सबै परीक्षार्थी दीक्षित हुनु आफैंमा एउटा उपलब्धि रहेको उनले बताए । ब्युटी प्रोगाम ६ महिना र मिडिया मेकअप ४ महिना लामो कोर्स हो ।

दीक्षान्त समारोहमा दिइएको जानकारी अनुसार सिडेस्को परीक्षाको इतिहासमै पहिलो पटक मिडिया मेकअप विधातर्फ नेपाली छात्रा रोजिना बास्तोलाले प्रयोगात्मक र सैद्धान्तिक दुवै परीक्षामा प्रथम स्थान हासिल गर्दै सर्वोत्कृष्ट भएकी छन् । यस उपलब्धिले अन्तर्राष्ट्रिय सौन्दर्य क्षेत्रमा नेपाली प्रतिभाको क्षमता र सम्भावनालाई स्थापित गरेको अधिकारीले बताए । परीक्षा सञ्चालन तथा मूल्याङ्कन मलेसियाकी अन्तर्राष्ट्रिय सिडेस्को परीक्षक तथा सौन्दर्य, स्पा, वेलनेस र एरोमाथेरापी प्रशिक्षक दातिन हाजाह नोरलिसा ली अब्दुल्लाहले गरेकी थिइन्। उनका अनुसार यस्तो कठिन सिडेस्को परीक्षामा मिडिया मेकअप विधाको सैद्धान्तिक र प्रयोगात्मक परीक्षा दुवैमा एकैजना विद्यार्थीले प्रथम स्थान हासिल गर्नु नै दुर्लभ हो ।
आइसासले यो उपलब्धि केवल दीक्षान्त समारोहमा सीमित नभई नेपालको सौन्दर्य उद्योगका लागि समेत युगान्तकारी कोसेढुङ्गा भएको जनाएको छ। नेपाली विद्यार्थीले सिडेस्कोजस्तो विश्वकै प्रतिष्ठित सौन्दर्य प्रमाणीकरण परीक्षामा उत्कृष्ट प्रदर्शन गर्नुले नेपालमा प्रदान भइरहेको सौन्दर्य शिक्षा अन्तर्राष्ट्रिय मापदण्डअनुसार रहेको पुष्टि भएको आयोजकको भनाइ छ। आइसासका प्रमुख कार्यकारी अधिकृत अधिकारीका अनुसार यस सफलताले आगामी दिनमा नेपाली सौन्दर्यकर्मीहरूलाई विश्वव्यापी रोजगारी तथा व्यावसायिक अवसरमा प्रतिस्पर्धा गर्न थप सहज बनाउने छ।

लामो समयको कडा परिश्रमपछि विद्यार्थीहरूले ७० प्रतिशत भन्दा बढी अंक ल्याएर उत्तीर्ण हुनुमा आइसास टिम, प्रशिक्षक र विद्यार्थीहरूको संयुक्त प्रयासको प्रतिफल भएको अधिकारीले जनाए । बजारमा धेरै संस्थाले आफैं परीक्षा लिएर आफैं प्रमाणपत्र दिने अभ्यास रहे पनि सिडेस्को डिप्लोमा भने स्वतन्त्र अन्तर्राष्ट्रिय मूल्यांकन प्रणालीमा आधारित हुने भएकाले यसको विश्वव्यापी मान्यता रहेको छ।
नयाँ बानेश्वरस्थित आईसास ब्यूटी स्कुलले अन्तर्राष्ट्रिय स्तरको सौन्दर्य शिक्षा तथा व्यावसायिक तालिम प्रदान गर्दै आएको छ। विश्वस्तरीय पाठ्यक्रम, आधुनिक प्रविधि र अनुभवी प्रशिक्षकमार्फत विद्यालयले नेपालमै सिडेस्को जस्तो अन्तर्राष्ट्रिय मान्यता प्राप्त सौन्दर्य प्रमाणीकरण कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

नेपाली विद्याथीहरूलाई विश्वव्यापी मापदण्डको व्यावसायिक तालम दिने उद्देश्यसहित स्थापित यस स्कुलले सडेस्को जस्तो विश्वकै सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रमाणीकरणलाई नेपालमै भित्र्याएको छ। अत्याधुनिक प्रविधि अन्तर्राष्ट्यि पाठ्यक्रम र अनुभवी प्रशिक्षकहरूमाफत् आइसासले नेपालको सौन्दर्य तथा स्पा उद्योगलाई व्यावसायिक र अन्तर्राष्ट्यिस्तरमा पुर्याउन नेतृत्वदायी भूमिका खेल्दै आएको छ।
















