Dhulikhel Eco Banner new

नागढुंगा सुरुङमार्गको शुल्क अब क्यूआरबाटै तिर्न सकिने, ट्रक महासंघ र सानिमा बैंकबीच सम्झौता

429
shares

काठमाडौं,२६ साउन । नेपाल ट्रक यातायात व्यवसायी महासंघ र सानिमा बैंक लिमिटेडबीच नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोगबापत लाग्ने प्रवेश तथा उपभोग शुल्क नगदरहित प्रणालीबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाउने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौतापछि सुरुङमार्ग प्रयोग गर्ने ट्रक तथा अन्य व्यवसायीले शुल्क भुक्तानीमा क्यूआर कोडको सुविधा पाउने भएका छन्। सुरुङमार्ग प्रवेश गर्दा लाग्ने शुल्क आरएफआईडी प्रणालीमार्फत व्यवस्थापन गरिनेछ भने क्यूआरमार्फत समेत सहज रूपमा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइनेछ।

नगदरहित भुक्तानी प्रणाली लागू भएपछि सुरुङमार्ग प्रयोग गर्ने व्यवसायीले नगद बोकेर शुल्क तिर्नुपर्ने बाध्यता हट्ने तथा भुक्तानी प्रक्रिया थप सहज, छिटो र पारदर्शी हुने अपेक्षा गरिएको छ। विशेषगरी नियमित रूपमा सुरुङमार्ग प्रयोग गर्ने ट्रक तथा मालवाहक सवारी व्यवसायीलाई यसबाट प्रत्यक्ष लाभ पुग्ने महासंघले जनाएको छ।

सम्झौतामा नेपाल ट्रक यातायात व्यवसायी महासंघका तर्फबाट अध्यक्ष राजेन्द्र विक्रम बाँनिया र सानिमा बैंक लिमिटेडका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालले हस्ताक्षर गरेका छन्।

सरकारले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै नागढुंगा सुरुङमार्ग खण्डमा सञ्चालन हुने सवारीसाधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर लिने निर्णय यसअघि नै गरिसकेको छ। सोही निर्णयअनुसार मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न प्रकारका सवारीसाधनका लागि प्रवेश तथा बाहिरिने शुल्क निर्धारण गरेको छ।

निर्धारित दरअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ।

मिनी बस तथा मिनी टिपर/ट्रकले सुरुङमार्ग प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ।त्यस्तै, बस तथा सिंगल रियर एक्सल भएका ट्रकका लागि प्रवेश शुल्क २६० रुपैयाँ र बाहिरिने शुल्क २०० रुपैयाँ तोकिएको छ।

मल्टी एक्सल ट्रक तथा अन्य भारी सवारीसाधन र भारी उपकरणका लागि भने प्रवेश शुल्क ६०० रुपैयाँ र बाहिरिने शुल्क २५० रुपैयाँ निर्धारण गरिएको छ।

नगदरहित भुक्तानी प्रणाली लागू भएपछि सुरुङमार्ग प्रयोग गर्ने ट्रक तथा मालवाहक सवारी व्यवसायीलाई शुल्क तिर्न थप सहज हुने नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष बाँनियाले विश्वास व्यक्त गरेका छन्।