ट्राफिक प्रहरीलाई वित्तीय साक्षरता : बचतसँगै सुरक्षित लगानीमा जोड
वि.सं.२०८३ साउन २६ मंगलवार १३:१४
shares

काठमाडौं,२६ साउन । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वय तथा लक्ष्मी सन्राइज क्यापिटल र लक्ष्मी सन्राइज बैंकको आयोजनामा ट्राफिक प्रहरी कर्मचारीहरूका लागि पुँजी बजार साक्षरता तथा डिजिटल बैंकिङ सुरक्षा र चुनौतीसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा अहोरात्र सेवामा खटिने ट्राफिक प्रहरी कर्मचारीहरूको दीर्घकालीन आर्थिक सुरक्षालाई ध्यानमा राख्दै धितोपत्र बजारका विभिन्न संयन्त्र, लगानी गर्ने तरिका, लगानीका फाइदा तथा चुनौतीका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।
साथै, सुरक्षित डिजिटल वित्तीय कारोबार र त्यस क्रममा अपनाउनुपर्ने सावधानीबारे समेत सहभागीलाई जानकारी गराइएको थियो।
कार्यक्रममा वक्ताहरूले सडक अनुशासनजस्तै वित्तीय अनुशासन पनि अपरिहार्य रहेको उल्लेख गर्दै नियमित बचतसँगै सुरक्षित तथा योजनाबद्ध लगानीको बानी विकास गर्नुपर्नेमा जोड दिएका थिए।उनीहरूले मासिक रूपमा गरिने सानो बचतबाट समेत दीर्घकालीन रूपमा सुरक्षित लगानीको सुरुवात गर्न सकिने बताएका थिए।
‘बचतसँगै लगानी गर्ने बानी बसालौं, समृद्ध भविष्य निर्माण गरौं’ भन्ने उद्देश्यका साथ कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रमले सहभागी ट्राफिक प्रहरी कर्मचारीहरूमा लगानीप्रति सकारात्मक सोचको विकास गर्न प्रेरित गरेको आयोजकले जनाएको छ।
कार्यक्रममा वरिष्ठ ट्राफिक प्रहरी अधिकृतहरू, आयोजक संस्थाका पदाधिकारी तथा काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।















