Dhulikhel Eco Banner new

नेप्सेमा ‘ट्विजर बटम’ को संकेत :  बजारले कुन बाटो तय गर्ला ?

संस्थागत तथा ठूला लगानीकर्ताहरू ‘पर्ख र हेर’ को रणनीतिमा

1.26K
shares
काठमाडौं — लगातार चार दिनको गिरावटपछि बिहीबार सकारात्मक लयमा फर्किएको सेयर बजार (नेप्से) का लागि आजको कारोबार निकै संवेदनशील र निर्णायक हुने देखिएको छ। अघिल्लो दिन महत्त्वपूर्ण मानिने ६१.८ प्रतिशतको ‘फिबोनाची रिट्रेसमेन्ट लेभल’ लाई ब्रेकआउट गर्दै माथितिर मोडिएको बजारले आज उकालो यात्रालाई निरन्तरता दिन्छ वा पुनः ओरालो लाग्छ भन्नेमा आम लगानीकर्ताको चासो छ।
प्राविधिक विश्लेषकहरूका अनुसार बिहीबार बजारमा देखिएको ‘ट्विजर बटम’ जस्तै बुलिस सेन्टिमेन्टयुक्त क्यान्डललाई आजको बजारले पुष्टि गर्नुपर्ने हुन्छ। आज नेप्सेले नयाँ ‘हायर हाइ’ (HH) क्यान्डल बनाएको खण्डमा मात्रै बुलिस ट्रेन्ड भ्यालिड हुनेछ र बजारले मजबुत उकालो यात्रा तय गर्नेछ। यतिबेला प्राविधिक सूचक ‘एभरेज डिरेक्सनल इन्डेक्स’ (एडीएक्स) पूर्ण रूपमा अपट्रेन्डतर्फ मोडिएको छ। आज नेप्से परिसूचक बढेको खण्डमा एडीएक्सले बजारलाई ठूलो बुलिस गतिमा लैजानेछ। तर, बजार ओरालो लागेको अवस्थामा भने गिरावटको गति झनै तीव्र र जोखिमपूर्ण हुन सक्ने भएकाले आजको कारोबारलाई प्राविधिक रूपमा निकै चासोका साथ हेरिएको छ।
बजारको मनोविज्ञान हेर्दा हाल संस्थागत तथा ठूला लगानीकर्ताहरू ‘पर्ख र हेर’ को रणनीतिमा छन्। शीर्ष १० ठूला ब्रोकरहरूको खरिद र बिक्री अनुपात ठ्याक्कै आधा–आधा (५–५) हुनु र बिहीबार नाफा तथा नोक्सान व्यहोर्ने कम्पनीको संख्या पनि १३२–१३२ नै रहनुले बजारमा क्रेता र विक्रेताबीच कडा टक्कर चलिरहेको प्रष्ट हुन्छ। यद्यपि, कारोबार रकम बढेर साढे ४ अर्ब नाघ्नु र बलियो वित्तीय आधार भएका जलविद्युत् कम्पनीहरूमा लगानीकर्ताको आकर्षण देखिनुले आज पनि खरिदकर्ताको मनोबल उच्च रहन सक्ने अनुमान गर्न सकिन्छ।