Dhulikhel Eco Banner new

लघुवित्तको साथले बदलियो काक्री परिवारको जीवन, कृषि र कुखुरापालनबाट आत्मनिर्भर बन्दै

611
shares

काठमाडौं, भदौ ६ शनिवार आर्थिक अभाव र सीमित आम्दानीका कारण अन्योलमा रहेको काक्री परिवार अहिले कृषि र कुखुरापालनमार्फत आत्मनिर्भर बन्ने बाटोमा अघि बढेको छ। लघुवित्त संस्थाबाट प्राप्त ऋण, बचत गर्ने बानी र निरन्तर मेहनतले परिवारको आर्थिक अवस्थासँगै आत्मविश्वासमा समेत परिवर्तन ल्याएको छ।

श्रीमान् कुमार काक्री र श्रीमती सविना काक्री विगत १२ वर्षदेखि लघुवित्त संस्थासँग आबद्ध छन्। सविना २०७३ सालदेखि संस्थाको सदस्य बनेकी हुन्। साथीहरूको सुझावपछि लघुवित्तमा आबद्ध भएकी उनी अहिले संस्थाबाट प्राप्त सेवा–सुविधाप्रति सन्तुष्ट छिन्।

सविनाका अनुसार संस्थाबाट सहज रूपमा घट्दो ब्याजदरमा ऋण पाएपछि परिवारले बाख्रापालन, कुखुरापालन तथा तरकारी खेतीमा लगानी गर्न सकेको हो। सुरुमा ५० हजार रुपैयाँ ऋण लिएर व्यवसाय सुरु गरेको परिवार अहिले दुईवटा लघुवित्त संस्थाबाट सेवा लिइरहेको छ। पन्ध्र–पन्ध्र दिनमा किस्ता तिर्न सकिने व्यवस्थाले ऋण व्यवस्थापनमा समेत सहज भएको उनी बताउँछिन्।

काक्री परिवारमा पाँच सदस्य छन्। दुई जना विदेशमा छन् भने कुमार, सविना र कान्छो छोरा नेपालमै कृषि तथा व्यवसायमा संलग्न छन्। कुमार पनि दुई वर्ष वैदेशिक रोजगारीमा बसेर स्वदेश फर्किएका हुन्। विदेशमा कमाएको अनुभवभन्दा आफ्नै ठाउँमा व्यवसाय गरेर भविष्य बनाउन सकिने विश्वासका साथ उनी अहिले परिवारसँगै कृषि कर्ममा जुटिरहेका छन्।

काक्री परिवारको दिनचर्या बिहान ६ बजेदेखि सुरु हुन्छ। खेतबारी र कुखुरापालनको नियमित हेरचाहपछि केही समय आराम गरेर दिउँसो पुनः कृषि कार्यमा लाग्ने उनीहरूको दैनिकी हो।

चार रोपनी जग्गामा उनीहरूले गोलभेँडा, काक्रो, सिमी, बोडीलगायतका विभिन्न तरकारी खेती गर्दै आएका छन्। मौसमअनुसार कृषि उत्पादनबाट आम्दानी हुने गरेको उनीहरू बताउँछन्। वर्षायाममा करिब २५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको र अन्य समयमा समेत वार्षिक रूपमा करिब ६० हजार रुपैयाँसम्म बचत गर्न सफल भएको परिवारको भनाइ छ।

आफ्नै व्यवसाय विस्तार हुँदै गएपछि अहिले उनीहरूमा विदेश जाने सोचभन्दा स्वदेशमै केही गर्ने आत्मविश्वास बढेको छ। परिवारका सदस्यहरू मिलेर काम गर्दा खर्च घट्नुका साथै आम्दानीलाई व्यवस्थित गर्न पनि सहज भएको उनीहरूको अनुभव छ।

सविनाका लागि लघुवित्तबाट पाएको उपलब्धि ऋणमा मात्र सीमित छैन। यसले उनको सामाजिक आत्मविश्वाससमेत बढाएको छ। पहिले सार्वजनिक रूपमा आफ्नो नामसमेत भन्न नसक्ने अवस्था रहेको बताउँदै उनी अहिले केन्द्र बैठकमा खुलेर आफ्ना विचार राख्न सक्ने भएको बताउँछिन्।

केन्द्र प्रमुख र उपप्रमुखको नेतृत्वमा नियमित बैठक बस्ने, सदस्यका समस्या छलफल गर्ने र समाधान खोज्ने अभ्यासले महिलाको नेतृत्व क्षमता विकास गर्न समेत सहयोग पुगेको उनको भनाइ छ।

सविना ऋणको सदुपयोग र समयमै भुक्तानीलाई विशेष महत्त्व दिन्छिन्। उनी भन्छिन्, “लिएको ऋण समयमै तिर्नुपर्छ, ताकि पछि छोराछोरीमाथि भार नपरोस्। ऋण सही ठाउँमा लगानी गरियो भने तिर्न गाह्रो हुँदैन।”

काक्री परिवारको अनुभवमा लघुवित्तले आर्थिक अवस्था सुधार्नुका साथै फजुल खर्च नियन्त्रण गर्ने, बचत गर्ने बानी बसाल्ने र श्रीमान्–श्रीमती मिलेर काम गर्ने संस्कार विकास गर्न पनि सहयोग गरेको छ।

आफ्नै मेहनत, सीप र आत्मविश्वासका आधारमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने विश्वास बोकेको काक्री परिवार अहिले आफ्नो कृषि व्यवसायलाई थप विस्तार गर्ने योजनामा छ।

काक्री परिवारको यो यात्राले लघुवित्तबाट प्राप्त ऋणलाई उत्पादनमूलक क्षेत्रमा सही ढंगले परिचालन गर्न सके आर्थिक अवस्था सुधारसँगै रोजगारी र आत्मनिर्भरताको आधारसमेत निर्माण गर्न सकिने सन्देश दिएको छ।