विपद्को यस घडीमा साथ दिऔँ : विदेशबाट सहयोग पठाउन आइएमईमार्फत निःशुल्क सुविधा
वि.सं.२०८३ भदौ १२ शुक्रवार ११:४६
shares

काठमाडौं, १२ भदौ । प्राकृतिक विपद्का कारण प्रभावित परिवारलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउन विदेशमा रहेका नेपाली तथा अन्य सहयोगी मनहरूले आइएमईमार्फत नेपालमा निःशुल्क रकम पठाउन सक्ने व्यवस्था गरिएको छ।
आइएमईका अनुसार विदेशबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषका नाममा विभिन्न बैंकमा रहेका खातामा आइएमईमार्फत सिधै निःशुल्क रकम जम्मा गर्न सकिनेछ। यस सुविधामार्फत विदेशबाट पठाइएको सहयोग रकम सहज र सरल रूपमा नेपालमा प्राप्त गर्न सकिने जनाइएको छ।
त्यसैगरी, नेपालभित्रबाट पनि खल्ती बाइ आइएमईमार्फत सरकारी कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ।
आइएमईले विपद्को यस कठिन समयमा सबैलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्न आह्वान गरेको छ। प्रभावित परिवारको दुःखमा साथ दिँदै राहत तथा पुनर्स्थापनाका प्रयासमा सहयोग पुर्याउन आइएमईले सबैमा अपिल गरेको हो।
यसैबीच, रसुवा जिल्लाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट अकल्पनीय मानवीय तथा भौतिक क्षति भएकोप्रति आइएमई ग्रुपले दुःख व्यक्त गरेको छ। ग्रुपले प्रभावित दाजुभाइ, दिदीबहिनी तथा परिवारजनप्रति गहिरो सहानुभूति र ऐक्यबद्धता प्रकट गर्दै विपद्को यस घडीमा उद्धार, राहत तथा पुनर्स्थापनामा जुट्न सबैलाई आग्रह गरेको छ।
साथै, विपद्पछि उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति आइएमई ग्रुपले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।


















