Dhulikhel Eco Banner new

राष्ट्रिय वाणिज्य बैंकले ६% ब्याजदरमा ३ अर्बको ऋणपत्र निष्कासन गर्दै

663
shares

काठमाडौं, २० असोज । राष्ट्रिय वाणिज्य बैंकले असोज २९ गतेदेखि ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

बैंकले ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदरमा ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ निष्कासन गर्न लागेको हो। बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो।

सोमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रूपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रूपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ।

सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको कम्पनीको भनाइ छ। सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

उक्त ऋणपत्रमा कात्तिक १० गतेसम्म आवेदन दिन सकिनेछ सो अवधिसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि कात्तिक १२ गतेसम्म लम्बिनेछ। बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

बैंकलाई केयर रेटिङ नेपालले ‘केयर एनपी सिंगल ए प्लस इस्युअर’ रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको जनाउँछ।