Dhulikhel Eco Banner new

लुम्बिनी विकास बैंकको डेढ लाख संस्थापक सेयर सर्वसाधारणका लागि खुला

455
shares

लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १ लाख ५१ हजार ५८५ कित्ता संस्थापक सेयर सर्वसाधारण तथा अन्य संस्थाले समेत किन्न पाउने गरी बिक्री खुला गरेको छ। यसअघि बैंककै बहालवाला संस्थापक सेयरधनीहरूलाई मात्र लक्षित गर्दै ३५ दिने सूचना निकालिएको थियो। तर, उक्त अवधिमा कसैको पनि खरिद प्रस्ताव नआएपछि बैंकको सञ्चालक समितिले यसलाई सर्वसाधारणका लागि पनि खुला गरेको हो।

बिक्रीमा राखिएका कुल सेयरमध्ये भेन्चर होल्डिङ्स प्रालि (पहिलेको भेन्चर ट्रेडिङ एन्ड इन्भेस्टमेन्ट) को नाममा १ लाख ४३ हजार ५८५ कित्ता र अर्का संस्थापक ठाकुरप्रसाद बरालको नाममा ८ हजार कित्ता रहेको छ। सेयर बिक्रीका लागि बैंकले मंगलबार (असोज २१ गते) दोस्रो पटक १५ दिने सार्वजनिक सूचना जारी गरेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड र योग्यता पूरा गरेका जुनसुकै इच्छुक व्यक्ति वा संस्थाले यो सेयर खरिद गर्न सक्नेछन्। यसका लागि सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजात र विवरणसहित काठमाडौंको डिल्लीबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको छ।