Dhulikhel Eco Banner new

६१% रिट्रेसमेन्ट र चाडपर्वको चेपुवामा नेप्से: अब शेयर बजारले कुन बाटो तय गर्ला?

ठूला ब्रोकरको खरिदले देखाएको आशा

832
shares

दसैं-तिहारजस्ता ठूला चाडपर्व र असोज मसान्तको दोहोरो दबाबका बीच शेयर बजार (नेप्से) अहिले एउटा महत्त्वपूर्ण दोबाटोमा उभिएको छ। साताको अन्तिम कारोबार (बिहीबार) झिनो अंकले बढेर २,५७४.६५ विन्दुमा अडकिएको बजारले लगानीकर्ताको मनोविज्ञानलाई पर्ख र हेरको अवस्थामा राखेको छ। एकातिर मसान्तको आर्थिक दायित्वले प्यानिक सेलिङ गराइरहेको छ भने अर्कोतिर ‘स्मार्ट मनी’ ले सस्तोमा शेयर उठाइरहेको छ। यस्तो कडा जुहारीका बीच अब बजार कता जाला भन्ने चासो आम लगानीकर्तामा छ।

प्राविधिक रुपमा अबको बाटो: २५७५ को ‘रेजिस्टेन्स’ नै मुख्य तगारो

प्राविधिक विश्लेषकहरुका अनुसार, बजार अहिले ६१ प्रतिशतको ‘गोल्डेन रिट्रेसमेन्ट’ विन्दुमा आएर टेवा (सपोर्ट) खोजिरहेको छ। साताको अन्तिम दिन बजारले २५७५ को विन्दुलाई तीन पटकसम्म परीक्षण गरेर पनि पार गर्न नसक्नुले यसलाई तत्कालका लागि बलियो प्रतिरोध (रेजिस्टेन्स) का रूपमा खडा गरेको छ।

अब बजारले सकारात्मक गति लिनका लागि स्पष्ट रूपमा नयाँ ‘हायर हाइ’ (HH) बनाएर २५७५ को विन्दुलाई भोल्युमसहित (कारोबार रकम बढेर) ब्रेक गर्नुपर्ने हुन्छ। हाल औसत दिशासूचक (ADX) तलतिर ढल्किँदा गिरावटको गति सुस्त भएको संकेत मिले पनि म्याक्डी (MACD) मा देखिएको ‘बियरिस क्रसओभर’ र २०, ५० तथा २०० दिनको मुभिङ एभरेजभन्दा परिसूचक तल हुनुले बजार अझै पूर्ण रूपमा दबाबमुक्त भइसकेको छैन। यदि बजार थप तल झरेमा ADX अपट्रेन्डतर्फ नमोडियोस् भन्नेतर्फ लगानीकर्ता चनाखो हुनुपर्ने देखिन्छ।

ठूला ब्रोकरको खरिदले देखाएको आशा

प्राविधिक सूचकहरु केही कमजोर देखिए पनि बजारको भित्री संरचना (मार्केट डेप्थ) ले भने सकारात्मक संकेत दिएको छ। बिहीबार शीर्ष १० ठूला ब्रोकरमध्ये ६ वटाले बिक्रीभन्दा खरिद बढाएका छन्। यसले बजार सस्तो भएको मौका छोपेर संस्थागत तथा ठूला लगानीकर्ताहरुले सुटुक्क शेयर संकलन (एक्युमुलेसन) गरिरहेको बलियो प्रमाण दिन्छ। जलविद्युत क्षेत्र र कुथेली बुखरी जस्ता आकर्षक लाभांश घोषणा गरेका कम्पनीहरुमा देखिएको खरिद चापले आगामी दिनमा लाभांशमुखी कम्पनीहरुले नै बजारलाई लिड गर्ने संकेत गर्दछ।

अबका फ्याक्टर: मसान्तको प्रभाव र पहिलो त्रैमासको रिपोर्ट

अब बजार कता जान्छ भन्ने कुरा मुख्यतया दुई/तीन वटा फ्याक्टरमा निर्भर रहनेछ। पहिलो, असोज मसान्तको प्रभाव। मसान्तमा बैंकको साँवा-ब्याज बुझाउनुपर्ने चटारोले आगामी केही दिन बजारमा अझै केही ‘सेलिङ प्रेसर’ देखिन सक्छ। तर, मसान्त सकिए लगत्तै बैंकिङ प्रणालीमा तरलता सहज हुने र ब्याजदर थप घट्ने अपेक्षाले बजारलाई माथि उचाल्न इन्धनको काम गर्नेछ।

दोस्रो, कम्पनीहरुको पहिलो त्रैमासको वित्तीय विवरण। दसैंलगत्तै कम्पनीहरुले आफ्नो वित्तीय विवरण सार्वजनिक गर्न थाल्नेछन्। लाभांशको सिजन पनि सँगै चलिरहेको हुँदा राम्रो प्रतिफल दिने क्षमता भएका कम्पनीहरुमा खरिदकर्ता झुम्मिने पक्का छ।

समग्रमा भन्नुपर्दा, आगामी केही दिन शेयर बजारले ‘पर्ख र हेर’ कै रणनीति अन्तर्गत ‘साइडवेज’ (निश्चित दायराभित्र तलमाथि) गति नै समात्ने सम्भावना उच्च छ। बजारले स्पष्ट दिशा लिनका लागि असोज मसान्तको दबाब सकिनु पर्नेछ र प्राविधिक रूपमा २५७५ को विन्दुलाई तोड्नु पर्नेछ। यो विन्दु पार भएमा नेप्सेले चाडपर्व पछाडि नयाँ उचाइको यात्रा तय गर्नेछ भने पार गर्न नसकेमा अझै केही समय तल्लो विन्दुमै सस्तो शेयर उठाउने (एक्युमुलेसन) को चरण चल्नेछ। यस्तो अवस्थामा लगानीकर्ताले प्यानिक सेलिङ गर्नुभन्दा कम्पनीको आधारभूत पक्ष र लाभांश क्षमता हेरेर दीर्घकालीन निर्णय लिनु बुद्धिमानी हुने देखिन्छ।