Dhulikhel Eco Banner new

बूढीगण्डकीमा आकस्मिक बाढी: ३५ घर र पुल बगायो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता

1.13K
shares

गोरखाको चुमनुम्ब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आउँदा ठूलो भौतिक क्षति भएको छ। आइतबार बिहानै आएको बाढीले नदी किनारका दर्जनौं घर र एउटा मोटरेबल पुल बगाएको छ भने तल्लो तटीय क्षेत्रमा जोखिम उच्च बनाएको छ।

चुमनुम्ब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार आइतबार बिहान ४ बजेतिर एक्कासि गाउँमा बाढी पसेपछि स्थानीयवासी ज्यान जोगाउन सुरक्षित स्थानतर्फ भागेका थिए। बाढीले पैयू र बगर गाउँका मात्रै ३५ वटा घर बगाएको छ। यसका साथै दोभान, घट्टेखोला, जगत् र सल्लेरीसहित वडा नम्बर ३ को बजार क्षेत्रमा पनि व्यापक क्षति पुगेको छ। बाढीकै कारण आरुघाट गाउँपालिकाअन्तर्गत सोती र मान्बु जोड्ने मोटरेबल पुलसमेत बगेको छ।

बाढीको यकिन कारण भने अझै खुल्न सकेको छैन। माथिल्लो भेगमा वर्षा भएको रेकर्ड नभएकाले कतै पहिरो खसेर नदी थुनिएको र पछि उक्त बाँध फुटेर एक्कासि बाढी आएको हुनसक्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक अनुमान छ। चुमनुम्ब्री–६ चुम्चेतस्थित उङ्गेल खोलाबाट खसेको पहिरो स्यार खोलामा थुनिएर बूढीगण्डकीमा मिसिएपछि यो विपद् निम्तिएको स्थानीय प्रशासनले जनाएको छ।

यसैबीच, माथिल्लो भेगमा बाढी आएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभाग र विपद् व्यवस्थापन प्राधिकरणले सिर्दिबास, जगत्, तातोपानी, माछीखोला, सोती हुँदै आरुघाटसम्मका बासिन्दालाई सुरक्षित रहन एसएमएसमार्फत चेतावनी पठाएका छन्। बाढी आरुघाट आइपुग्न करिब तीन घण्टा लाग्ने अनुमानसहित नेपाल प्रहरीले पनि नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन सचेत गराइरहेको छ।