Dhulikhel Eco Banner new

घटस्थापना आजै गर्न पञ्चाङ्ग समितिको आग्रह, २६ गतेको हल्ला भ्रामक

1.25K
shares

यस वर्षको बडादसैंको पहिलो दिन अर्थात् घटस्थापना आज (असोज २५ गते) नै मनाइँदैछ । सामाजिक सञ्जालमा असोज २६ गते मात्र जमरा राख्नुपर्ने भन्दै विभिन्न हल्ला फैलिएपछि नेपाल पञ्चाङ्ग निर्णायक समितिले त्यसलाई खारेज गर्दै आजै घटस्थापना गर्न स्पष्ट पारेको छ । समितिका अनुसार आज बिहान ११ बजेर ४७ मिनेटको समय जमरा राख्नका लागि सबैभन्दा उत्तम साइत हो ।

आश्विन शुक्ल प्रतिपदाका दिन ‘चित्रा नक्षत्र’ र ‘वैधृति योग’ परेमा घटस्थापनाका लागि अशुभ मानिने र धन वा सन्तानको नाश हुने जनविश्वास छ । आज राति अबेरसम्मै यी दुवै योग परेकाले कतिपयले भोलि मात्र जमरा राख्नुपर्ने तर्क गरेका थिए । तर, समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईले सूर्योदयकालमा प्रतिपदा तिथि रहेको दिनमै घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यता रहेको बताएका छन् । दिनभर अशुभ योग परे पनि मध्याह्नकालको अभिजित् मुहूर्त (लास्टको एक चौथाइ समय) मा साइत निकाल्न सकिने शास्त्रीय व्यवस्थाअनुसार नै ११:४७ बजेको समय तोकिएको उनले प्रस्ट पारे ।

आज घटस्थापना गर्दा लाग्न सक्ने नक्षत्र र योगको दोष निवारणका लागि भने समितिले केही सहज विकल्पहरू सुझाएको छ । जमरा राख्नुअघि यी योगको विधिवत् शान्ति गर्नुपर्ने र त्यसो गर्न सम्भव नभए ‘गोदान’ गर्न सकिने समितिले जनाएको छ । यदि गोदान गर्न पनि नसक्ने अवस्था भएमा नवदुर्गा भगवतीलाई स्मरण गर्दै दोष नलागोस् भनी प्रार्थना र नमस्कार गरेर घटस्थापनाको कार्य गर्न सकिने समितिको भनाइ छ ।