Dhulikhel Eco Banner new

तिहारअघि नै फुल्यो सयपत्री, किसानलाई बिक्रीको चिन्ता

598
shares

काठमाडौं,१२ कार्तिक।  तिहारलाई लक्षित गरी तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीस्वाँरामा लगाइएको सयपत्री फूल समयअगावै फुलेपछि किसान चिन्तित बनेका छन्। तिहार आउन अझै दुई साता बाँकी रहँदा फूल ओइलाउने र बजार नपाउने हो कि भन्ने चिन्ता किसानमा देखिएको छ।

चन्देश्वरी फलफूल तथा तरकारी कृषक समूहले यस वर्ष १६ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेको छ। गत वर्ष ६ रोपनीमा गरिएको फूलखेतीबाट ४ लाख रुपैयाँभन्दा बढी आम्दानी भएपछि किसानले यस वर्ष खेती विस्तार गरेका हुन्।

तर, यस वर्ष फूल समयअगावै फुलेपछि तिहारसम्म फूलको गुणस्तर कायम राख्न र उचित बजार पाउन समस्या हुने हो कि भन्ने चिन्ता बढेको छ।

किसानले उत्पादन गरेको फूल स्थानीय बजारमै बिक्री गर्न पाउने अपेक्षा गरेका छन्। त्यसका लागि भारतबाट हुने फूलको आयात कम भएमा स्थानीय उत्पादनले बजार पाउने र आफूहरूलाई राहत मिल्ने उनीहरूको आशा छ।