Dhulikhel Eco Banner new

तनहुँमा विकास आयोजनाका लागि ७१८.५८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति

637
shares

काठमाडौं,१२ कार्तिक। तनहुँमा सञ्चालित तथा निर्माणका विभिन्न चरणमा रहेका विकास आयोजनाले कुल ७१८ दशमलव ५८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति पाएका छन् । जलविद्युत् आयोजना, विद्युत् प्रसारण लाइन, केबलकार, रिसोर्ट तथा अन्य पूर्वाधार निर्माणका लागि उक्त वन क्षेत्र प्रयोग गर्न दिइएको डिभिजन वन कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटका अनुसार जिल्लाका विभिन्न विकास आयोजनालाई वन क्षेत्र प्रयोग गर्न अनुमति दिइएको हो । तीमध्ये तनहुँ जलविद्युत् आयोजना, ४०० केभी विद्युत् प्रसारण लाइन, तनहुँ हाइड्रोपावरको २२० केभी प्रसारण लाइन तथा अन्य प्रसारण लाइन आयोजनाले उल्लेख्य वन क्षेत्र प्रयोग गरेका छन् ।

वन क्षेत्र प्रयोग गर्न अनुमति दिँदा सम्बन्धित आयोजना तथा निकायले प्रचलित व्यवस्था र सर्तअनुसार राजस्व बुझाउने, जग्गा सट्टाभर्ना गर्ने तथा क्षतिपूर्तिस्वरूप वृक्षारोपण गर्नुपर्ने व्यवस्था छ ।

आयोजनाअनुसार वन क्षेत्र प्रयोगको अवस्था फरक–फरक रहेको छ । केही आयोजनाले जग्गा सट्टाभर्ना गरी क्षतिपूर्तिस्वरूप वृक्षारोपण गरिरहेका छन् भने केहीले वार्षिक कबुलियती दस्तुर तथा राजस्व बुझाउँदै आएका छन् । कतिपय आयोजनामा रूख छपान तथा कटानको काम भइरहेको रानाभाटले बताए ।

तनहुँ जलविद्युत् आयोजनालाई सबैभन्दा धेरै वन क्षेत्र

तनहुँ जलविद्युत् आयोजनाका लागि ४१७ दशमलव ३४ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिइएको छ । जिल्लामा विकास आयोजनाका लागि उपलब्ध गराइएको वन क्षेत्रमध्ये यो सबैभन्दा ठूलो हिस्सा हो ।

त्यस्तै, ४०० केभी विद्युत् प्रसारण लाइन योजनाअन्तर्गत एमसिए नेपाललाई १४२ दशमलव ६६ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिइएको छ । तनहुँ हाइड्रोपावरको २२० केभी प्रसारण लाइन आयोजनालाई ९२ दशमलव ७३ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति दिइएको छ ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको मसाङ्ग्र्याइदी–डुम्रे–दमौली १३२ केभी प्रसारण लाइन आयोजनाका लागि १४ दशमलव ८५ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिइएको छ । उक्त आयोजनाले वार्षिक रूपमा राजस्व बुझाउँदै आएको रानाभाटले जानकारी दिए ।

यसैगरी, मर्स्याङ्दी करिडोरअन्तर्गत उदीपुर–न्यू भरतपुर २२० केभी विद्युत् प्रसारण लाइन आयोजनाका लागि १७ दशमलव ७५ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिइएको छ । उक्त आयोजनामा रूख छपान तथा कटानको काम सम्पन्न गरी समूहमा हस्तान्तरण गरिएको जनाइएको छ ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको केरावारी–न्यू मर्स्याङ्दी ९दरौदी करिडोर० १३२ केभी विद्युत् प्रसारण लाइन आयोजनाका लागि शून्य दशमलव आठ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिइएको छ । उक्त आयोजनाका लागि वन तथा भूसंरक्षण विभागसँग सम्झौता भई रूख छपानको काम जारी रहेको छ ।

केबलकार, रिसोर्ट र जलविद्युत् आयोजनालाई पनि वन क्षेत्र

वन क्षेत्र प्रयोग गर्ने आयोजनामा पर्यटन पूर्वाधार तथा अन्य जलविद्युत् आयोजना पनि रहेका छन् । बन्दीपुर गाउँपालिका–४ मा रहेको बन्दीपुर केबलकार आयोजनाले एक दशमलव शून्य चार हेक्टर वन क्षेत्र प्रयोग गरेको छ । उक्त आयोजनाका लागि जग्गा सट्टाभर्ना भइसकेको र क्षतिपूर्ति वृक्षारोपणको काम जारी रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

त्यस्तै, बन्दीपुर माउन्टेन रिसोर्टले बन्दीपुर गाउँपालिका–४ मा शून्य दशमलव नौ हेक्टर वन क्षेत्र प्रयोग गरेको छ । उक्त रिसोर्टले वार्षिक रूपमा कबुलियती दस्तुर बुझाउँदै आएको कार्यालयले जनाएको छ ।

वाराही क्वेयरी प्रालिले चार दशमलव ८५ हेक्टर वन क्षेत्र प्रयोग गरेको छ । उक्त कम्पनीका लागि जग्गा सट्टाभर्ना भएको र क्षतिपूर्ति वृक्षारोपणको काम जारी रहेको छ ।

सेतीखोला जलविद्युत् आयोजनाका लागि सेतीखोला हाइड्रोपावर लिमिटेड, काठमाडौंले चार दशमलव २० हेक्टर वन क्षेत्र प्रयोग गर्ने अनुमति पाएको छ । यस आयोजनाका लागि जग्गा सट्टाभर्ना दिइएको र वृक्षारोपणको काम जारी छ ।

सेतीखोला जलविद्युत् आयोजनाको १३२ केभी प्रसारण लाइनका लागि थप दुई दशमलव ७७ हेक्टर वन क्षेत्र प्रयोग गर्ने प्रक्रिया अघि बढाइएको छ । उक्त आयोजनाका लागि वन विभागसँग सम्झौता भई रूख छपान तथा कटानको काम जारी रहेको छ ।

कालीगण्डकी जलविद्युत् आयोजनाका लागि मौलाकालिका हाइड्रोपावर कम्पनी, काठमाडौंले १३ दशमलव ६८ हेक्टर वन क्षेत्र प्रयोग गर्ने प्रस्ताव अघि बढाएको छ । उक्त प्रस्ताव रायसहित वन विभागमा पठाइएको डिभिजन वन कार्यालयको विवरणमा उल्लेख छ ।

क्षतिपूर्ति वृक्षारोपण र राजस्व भुक्तानी

विकास आयोजनाका लागि वन क्षेत्र उपलब्ध गराउँदा वन संरक्षण र क्षतिपूर्तिको विषयलाई पनि महत्त्व दिइएको छ । केही आयोजनाले प्रयोग गरेको वन क्षेत्रको सट्टामा जग्गा उपलब्ध गराइसकेका छन् भने त्यहाँ क्षतिपूर्ति वृक्षारोपणको काम जारी छ ।

वाराही क्वेयरी प्रालि, बन्दीपुर केबलकार र सेतीखोला जलविद्युत् आयोजनाका लागि जग्गा सट्टाभर्ना तथा वृक्षारोपणसम्बन्धी काम भइरहेको रानाभाटले बताए । बन्दीपुर माउन्टेन रिसोर्ट र मसाङ्ग्र्याइदी–डुम्रे–दमौली १३२ केभी प्रसारण लाइन आयोजनाले भने वार्षिक कबुलियती दस्तुर वा राजस्व बुझाउँदै आएका छन् ।

त्यस्तै, प्रसारण लाइन निर्माणका लागि कतिपय आयोजनामा रूख छपान तथा कटानको प्रक्रिया अघि बढाइएको छ । केही आयोजनाका प्रस्ताव वन विभागमा पठाइएको छ भने केहीमा विभागसँग सम्झौता भई काम भइरहेको उनले बताए ।

ऊर्जा पूर्वाधार विस्तारसँगै वन क्षेत्रको प्रयोग

तनहुँमा जलविद्युत् उत्पादन तथा विद्युत् प्रसारण प्रणाली विस्तारका लागि विभिन्न आयोजना सञ्चालनमा छन् । जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न प्रसारण लाइन निर्माण आवश्यक पर्ने भएकाले यस्ता पूर्वाधारका लागि वन क्षेत्रसमेत प्रयोग गर्नुपर्ने अवस्था रहेको छ ।

तनहुँ जलविद्युत् आयोजना, ४०० केभी प्रसारण लाइन तथा २२० केभी र १३२ केभीका विभिन्न प्रसारण लाइन आयोजना वन क्षेत्र प्रयोग गर्ने प्रमुख आयोजनाका रूपमा देखिएका छन् । यसबाहेक पर्यटन पूर्वाधारका रूपमा केबलकार र रिसोर्ट तथा अन्य जलविद्युत् आयोजनाले पनि वन क्षेत्र प्रयोग गरेका छन् ।