Dhulikhel Eco Banner new

दशैँपछि शेयर बजारमा ‘स्मार्ट मनी’को प्रवेशः कारोबारमा ५१ प्रतिशतको उछाल, प्राविधिक रूपमा पनि ‘बुलिस’ संकेत

429
shares

काठमाडौं । चाडपर्वको लामो बिदापछि खुलेको शेयर बजारमा लगानीकर्ताको उच्च मनोबल देखिएको छ। अर्थतन्त्रका अन्य अवयवहरु सुस्त रहँदा पुँजी बजारमा भने दशैँलगत्तै उत्साहजनक चमक छाएको छ। परिसूचकको सामान्य वृद्धिसँगै कारोबार रकममा आएको भारी उछालले बजारमा नयाँ पुँजी अर्थात् ‘स्मार्ट मनी’ प्रवेश गरेको प्रष्ट संकेत दिएको छ।

तथ्यांकलाई हेर्ने हो भने, दशैँअघिको अन्तिम कारोबार दिन २६३४.१७ विन्दुमा रोकिएको नेप्से परिसूचक बिदापछिको पहिलो साता ५५.९८ अंक (२.१३ प्रतिशत) ले उकालो लाग्दै २६९०.१५ विन्दुमा पुगेर बन्द भएको छ। परिसूचकको अंकभन्दा पनि यस साता कारोबार रकममा देखिएको वृद्धिले विश्लेषकहरूको ध्यान तानेको छ। दशैँअघि दैनिक औसत ४ अर्ब ५८ करोड रुपैयाँ हाराहारीमा सीमित कारोबार यस साता ह्वात्तै बढेर दैनिक औसत ६ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो साताको तुलनामा ५१.३९ प्रतिशतको भारी वृद्धि हो। बजार बढ्दा एकै सातामा लगानीकर्ताको कुल सम्पत्ति (बजार पुँजीकरण) पनि ९६ अर्ब रुपैयाँले थपिएर ४६ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ।

बजारको अर्को सबल पक्ष भनेको यस साता नेप्सेमा सूचीकृत सबै १३ वटै उपसमूहमा हरियाली छाउनु हो। यसले लगानीकर्ताहरूले कुनै एक क्षेत्रमा मात्र जोखिम नमोली पोर्टफोलियो विविधीकरणमा ध्यान दिएको देखाउँछ। यद्यपि, लगानीकर्ताको पहिलो रोजाइमा भने जलविद्युत क्षेत्र नै परेको छ। यस उपसमूहको परिसूचक सर्वाधिक ३.७८ प्रतिशतले बढेर ३६९६.६८ विन्दुमा पुगेको छ। हकप्रद शेयरको चर्चा र वर्षायामको राम्रो विद्युत उत्पादनले यस क्षेत्रमा सट्टेबाज र दीर्घकालीन दुवैथरी लगानीकर्ता तानिएका छन्।

कम्पनीगत रूपमा हेर्दा बेनी हाइड्रोपावरको शेयरमूल्यमा देखिएको १०१.०५ प्रतिशतको अप्रत्याशित वृद्धिले बजारमा विशेष चर्चा पाएको छ। दशैँअघि ३५३ रुपैयाँ रहेको यसको शेयरमूल्य लगातार सकारात्मक सर्किट लाग्दै ७०९ रुपैयाँ माथि पुगेको छ। यस्तो छोटो समयको अस्वाभाविक वृद्धिले बजारमा ‘कर्नरिङ’ वा भित्री सूचना चुहावट (इन्साइडर ट्रेडिङ) को आशंकासमेत उब्जाएको जानकारहरु बताउँछन्। उता, बजार बढ्दाबढ्दै पनि चिरख्वा हाइड्रोपावरका लगानीकर्ताले भने निरन्तरको बिक्री चापका कारण यसै साता १५ प्रतिशतभन्दा बढी गुमाएका छन्। यसले बजार बढ्दैमा सबै कम्पनी बढ्छन् भन्ने भ्रमलाई चिरेको छ।

साताभरिको खरिदबिक्री (फ्लोरसिट) विवरणको विश्लेषण गर्दा ठूला र संस्थागत लगानीकर्ताको सुझबुझपूर्ण रणनीति सतहमा आएको छ। एकातिर लक्ष्मी सनराइज र प्राइम बैंकका डिबेन्चर (ऋणपत्र) हरू सर्वाधिक खरिद सूचीको अग्रस्थानमा छन् भने अर्कोतिर मिड सोलु, कालिञ्चोक दर्शन र श्वेत गंगा हाइड्रोपावर सर्वाधिक बिक्री भएका छन्। घट्दो ब्याजदरको वर्तमान परिदृश्यमा संस्थागत लगानीकर्ताहरू भविष्यको निश्चित प्रतिफल सुरक्षित गर्न ऋणपत्रमा आकर्षित भएको र विगतमा मूल्य बढेका जलविद्युत तथा पर्यटन क्षेत्रका शेयर बेचेर नाफा सुरक्षित (प्रोफिट बुक) गरेको यो तथ्यांकले प्रमाणित गर्छ।

बजारको प्राविधिक पाटो पनि निकै उत्साहवर्द्धक देखिएको छ। दैनिक चार्टमा लामो समयदेखिको घट्दो प्रवृत्तिको शृंखला (लोअर-हाई र लोअर-लो) लाई नेप्सेले माथितिर तोडेको (ब्रेकआउट) छ। परिसूचकले २६०० को विन्दुमा बलियो टेवा (सपोर्ट) लिँदै नयाँ उचाइको यात्रा तय गरेको प्राविधिक विश्लेषकहरू बताउँछन्। यद्यपि, दैनिक चार्टमा रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ६९.६७ को विन्दुमा पुगेको छ, जुन ‘ओभरबट’ (अत्यधिक खरिद भएको अवस्था) को निकै नजिक हो। यसले बजारमा बुलिस गति बलियो रहेको देखाए पनि छिट्टै नाफा सुरक्षित गर्नेहरूको चाप पर्दा बजार केही समय स्थिर (कन्सोलिडेसन) हुन सक्ने जोखिमलाई पनि औंल्याउँछ। म्याक्डी (MACD) ले भने सकारात्मक क्रसओभर दिएर बजार बढ्ने संकेतलाई थप मजबुत बनाएको छ। साप्ताहिक चार्टमा समेत बजारको घट्दो प्रवृत्ति सकिएर उकालो लाग्ने बलियो संकेत देखिएको छ।

समग्रमा, बैंकिङ प्रणालीमा रहेको पर्याप्त तरलता, घट्दो ब्याजदर र नियामक निकायको लचिलो नीतिका कारण शेयर बजारले आधारभूत रूपमै बलियो जग बनाउँदै लगेको छ। अब लगानीकर्ताको ध्यान सूचीकृत कम्पनीहरूले सार्वजनिक गर्ने चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) को वित्तीय विवरणतर्फ मोडिएको छ। कम्पनीहरूको नाफा र प्रतिशेयर आम्दानीले नै तिहारपछिको बजारको वास्तविक दिशा तय गर्नेछ। प्राविधिक रूपमा नेप्सेको आगामी प्रतिरोध (रेजिस्टेन्स) २७५४ विन्दु आसपास रहेकोले साना लगानीकर्ताले बजारको गतिमा हौसिएर मात्र नभई कम्पनीको वित्तीय अवस्था हेरेर सुझबुझपूर्ण निर्णय लिनु आवश्यक देखिन्छ।