Dhulikhel Eco Banner new

सेयरमै सीमित पुँजी बजार फराकिलो बनाउँदै धितोपत्र बोर्ड, नयाँ वित्तीय औजार ल्याउन समिति गठन

455
shares
सेयर कारोबारमा मात्रै भर पर्दै आएको नेपालको पुँजी बजारलाई फराकिलो र आधुनिक बनाउन नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ कदम चालेको छ। बजारमा नयाँ वित्तीय औजार (इन्स्ट्रुमेन्ट) हरू भित्र्याउन तथा त्यसका लागि आवश्यक कानुनी, संस्थागत र प्राविधिक पूर्वाधारको खाका कोर्न बोर्डले सात सदस्यीय एक विशेष समिति गठन गरेको छ।
बोर्डका कायममुकायम कार्यकारी निर्देशकको नेतृत्वमा बनाइएको उक्त समितिमा नेपाल राष्ट्र बैंकका निर्देशक तहका प्रतिनिधि, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र मर्चेन्ट बैंकर्स एसोसिएसनका प्रतिनिधिहरू अटाएका छन्। समितिको पहिलो बैठकसमेत बसिसकेको छ, जसले नयाँ वित्तीय उपकरणको अवधारणा र बजार संरचनाको प्राविधिक तयारीबारे काम थालिसकेको छ।
हाल नेपालको धितोपत्र बजार मुख्यतया सामान्य सेयर (इक्विटी) मा मात्रै निर्भर छ। अब भने बजारको विविधीकरण गर्दै कर्पोरेट, सरकारी, हरित, नगर र पूर्वाधार ऋणपत्र (बन्ड) को कारोबार सुरु गर्ने समितिको मुख्य जिम्मेवारी तोकिएको छ। यसका साथै, एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ), रियल इस्टेट इन्भेस्टमेन्ट ट्रस्ट (आरईआईटी) र इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट ट्रस्ट (इन्भिट) जस्ता आधुनिक उपकरणलाई समेत बजारमा ल्याइनेछ।
त्यसैगरी, कमोडिटी फ्युचर्स र मुद्रा डेरिभेटिभजस्ता औजारलाई पनि चरणबद्ध रूपमा सञ्चालनमा ल्याउन आवश्यक कानुनी व्यवस्थाको अध्ययन समितिले गर्नेछ। बोर्डले सार्वजनिक गरेको ‘नेपालको पुँजी बजार विकास मार्गचित्र, २०८३’ को लक्ष्यलाई सार्थक बनाउन यो समिति बनाइएको हो। नयाँ वित्तीय उपकरणहरू प्रयोगमा आएसँगै नेपालको पुँजी बजार बहुआयामिक बन्ने र लगानीकर्ताले लगानीका थुप्रै नयाँ विकल्पहरू पाउने बोर्डको विश्वास छ।