Dhulikhel Eco Banner new

वर्षाका कारण कीर्तिपुर मैदानमा खेल गराउन कठिन, टिकटको रकम फिर्ताबारे छलफल हुने

429
shares

काठमाडौं, १४ कार्तिक। नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले लगातारको वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल सञ्चालन गर्न कठिन भएको बताएका छन् ।

उनका अनुसार बिहानदेखि नै मैदानमा पानीको निकास व्यवस्थापनका लागि प्रयास भइरहेको छ । तर, बाहिरबाट ठूलो मात्रामा पानी मैदानभित्र प्रवेश गरेपछि समस्या थपिएको हो । निर्माण कार्यका क्रममा ड्रेनेज अवरुद्ध हुँदा पानी निकासमा समेत कठिनाइ भएको उनले बताए ।

उनले भने, ‘बाहिरबाट ठूलो मात्रामा पानी मैदानभित्र प्रवेश गरेपछि समस्या भएको हो। निर्माण कार्यका क्रममा ड्रेनेजसमेत अवरुद्ध हुँदा पानी निकासमा कठिनाइ भएको छ । बिहानैदेखि पानी निकासका लागि आवश्यक प्रयास गरिरहेका छौँ । तर लगातारको वर्षाका कारण मैदानलाई खेल्न योग्य बनाउन चुनौती भइरहेको छ ।’

पानीको निकास सहज बनाउन जेसीभी प्रयोग गरी तीन नम्बर गेटतर्फको अवरोध हटाइएको र मैदानभित्र जमेको पानी बाहिर निकाल्न खाल्डो खनेर निकासको व्यवस्था गरिएको सिंहले जानकारी दिए। त्यसैगरी, पाँचदेखि छवटा मोटर प्रयोग गरेर मैदानमा जमेको पानी बाहिर फाल्ने तयारी गरिएको छ ।

उनका अनुसार मुलपानी र अन्य स्थानबाट समेत आवश्यक उपकरण तथा सुपर सोपर मगाइएको छ । तर, मैदानको बनावट र बाहिरबाट निरन्तर पानी आइरहेकाले मैदान सुकाउन चुनौती रहेको उनको भनाइ छ ।

‘आजको खेल सञ्चालन गर्न निकै गाह्रो छ । सम्भावना पनि न्यून छ,’ उनले भने, ‘मौसम सफा भएर पाँचदेखि सात घण्टासम्म समय पाए भोलिको खेलका लागि मैदान तयार पार्ने प्रयास गर्न सकिन्छ।’

सिंहले आज दिनभरि र रातिसम्म वर्षा भइरहे भोलिको खेल सञ्चालनमा समेत समस्या हुन सक्ने बताए । मैदानमा पानी निकाल्ने उपकरण प्रयोग गरे पनि बाहिरबाट पानी आइरहे अवस्था सहज नहुने उनको भनाइ छ ।

यसैबीच, खेल रद्द भएपछि टिकटको रकम फिर्ता गर्नुपर्ने भन्दै समर्थकहरूले उठाएको विषयमा पनि उनले प्रतिक्रिया दिएका छन् । खेल हेर्न नपाएका दर्शकको माग जायज रहेको उल्लेख गर्दै टिकटसम्बन्धी विषयमा आयोजकले आवश्यक निर्णय लिनुपर्ने उनले बताए । तेस्रो चरणको नेपाल प्रिमियर लिग(एनपीएल) कात्तिक ९ गतेदेखि जारी छ ।