सरकारी कार्यालयको हिउँदे समय लागू, अब ४ बजेसम्म मात्रै सेवा
वि.सं.२०८३ कात्तिक १६ सोमवार १२:२५
shares

काठमाडौं, १६ कात्तिक। देशभरका सरकारी कार्यालयमा आज (कात्तिक १६ गते) देखि हिउँदे समय तालिका लागू भएको छ। नयाँ व्यवस्थाअनुसार अब आगामी माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन्।
जाडोयाममा दिन छोटो हुने र साँझ छिट्टै अँध्यारो हुने अवस्थालाई मध्यनजर गर्दै सरकारले कार्यालय समय एक घण्टा घटाएको हो। यसअघि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए।
नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म साताको पाँच दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सरकारी सेवा प्रवाह हुनेछ।
यसअघि पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजता र इन्धन खपत न्यूनीकरण गर्ने उद्देश्यले मन्त्रिपरिषद् बैठकले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सोही व्यवस्थालाई निरन्तरता दिइएकाले सरकारी कार्यालयहरू हाल साताको पाँच दिन मात्रै सञ्चालन हुँदै आएका छन्।
नयाँ समय तालिका लागू भएसँगै सेवाग्राहीले सरकारी सेवा लिन कार्यालय समयलाई ध्यान दिनुपर्ने भएको छ। आगामी माघ १६ गतेदेखि भने सरकारी कार्यालयहरू पुनः नियमित समयअनुसार सञ्चालन हुनेछन्।



















