पहिलो तीन महिनामा नेपालले पायो ४२ अर्ब ३२ करोड रुपैयाँ वैदेशिक सहायता
वि.सं.२०८३ कात्तिक २७ शुक्रवार १०:०१
shares

काठमाडौं, २७ कात्तिक। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालले ४२ अर्ब ३२ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त गरेको छ। अर्थ मन्त्रालयका अनुसार गत साउनदेखि असोज मध्यसम्म नेपालले उक्त रकम बराबरको वैदेशिक सहायता प्राप्त गरेको हो।
प्राप्त वैदेशिक सहायतामध्ये ३४ अर्ब ३४ करोड रुपैयाँ ऋण र ७ अर्ब ९८ करोड रुपैयाँ अनुदान रहेको मन्त्रालयले जनाएको छ।
सरकारले चालु आर्थिक वर्षका लागि कुल ३ खर्ब ९ अर्ब २ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त गर्ने लक्ष्य राखेको छ। पहिलो तीन महिनामा प्राप्त सहायता वार्षिक लक्ष्यको १३.६९ प्रतिशत मात्रै हो।
यसैबीच, समीक्षा अवधिमा सरकारले नयाँ वैदेशिक सहायता प्रतिबद्धता भने ६ अर्ब ८७ करोड रुपैयाँ मात्रै जुटाउन सकेको छ। यसले थप वैदेशिक सहायता जुटाउने सरकारी प्रयास अपेक्षाकृत सुस्त रहेको देखाएको छ।
सरकारले विकास निर्माण तथा पूर्वाधार आयोजनामा वैदेशिक ऋण र अनुदानलाई महत्त्वपूर्ण स्रोतका रूपमा उपयोग गर्दै आएको छ।


















