कर प्रणाली आत्मनिर्भर अर्थतन्त्रको मुख्य आधार : प्रधानमन्त्री शाह
वि.सं.२०८३ मंसिर १ मंगलवार ०९:०९
650
shares
shares

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले कर संकलन राज्य सञ्चालनको स्रोत जुटाउने माध्यम मात्र नभई सामाजिक न्याय, तीव्र पूर्वाधार विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणको मुख्य आधार रहेको बताएका छन् । मंसिर १ गतेदेखि सप्ताहव्यापी रूपमा सुरु भएको ‘राष्ट्रिय कर दिवस, २०८३’ का अवसरमा शुभकामना सन्देश दिँदै उनले नागरिकले तिर्ने हरेक रुपैयाँ मुलुकको समृद्धि र गुणस्तरीय सार्वजनिक सेवा प्रवाहमा खर्च हुने उल्लेख गरे ।
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ लाई ‘कर न्याय वर्ष’ घोषणा गर्दै आर्थिक ऐनमार्फत विभिन्न कर छुट र सहुलियतका योजना कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री शाहले जानकारी दिए । यस्ता कार्यक्रमबाट हजारौँ करदाता प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गर्दै उनले आन्तरिक राजस्व परिचालनलाई बलियो बनाउन प्रणालीगत सुधारको कार्ययोजना अघि बढाइएको बताए ।
कर प्रशासनका प्रक्रियागत झन्झट हटाउँदै सेवालाई प्रविधिमैत्री बनाउने, विवाद छिटो टुङ्ग्याउने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएर स्वैच्छिक कर सहभागिता बढाउने सरकारको लक्ष्य रहेको सन्देशमा उल्लेख छ । बजारमा वस्तु तथा सेवाको किनबेच गर्दा अनिवार्य बिल लिने–दिने बानी बसाल्न ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ समेत लागू गरिएको उनले स्पष्ट पारे ।
कर तिर्नुलाई कानुनी बाध्यताका रूपमा मात्र नलिई देश विकासको पवित्र जिम्मेवारी ठान्न आग्रह गर्दै प्रधानमन्त्री शाहले नियमित रूपमा कर बुझाएर राज्यलाई सघाउने सम्पूर्ण करदाताप्रति सम्मान प्रकट गरेका छन् ।
















