Dhulikhel Eco Banner new

काठमाडौं उपत्यकामा आजदेखि वधशाला तथा मासु पसलमा अनिवार्य स्वास्थ्य परीक्षण र सरकारी अनुमति

1.27K
shares

काठमाडौं, १ मंसिर । काठमाडौं उपत्यकामा आज (मंसिर १) देखि पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ औपचारिक रूपमा कार्यान्वयनमा आएको छ । नयाँ व्यवस्थाअनुसार अब पशु वधशाला तथा मासु पसल सञ्चालनका लागि सरकारी निकायबाट अनुमति लिनुका साथै मासुको अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्ने भएको छ ।

पशु सेवा विभागले काठमाडौं, ललितपुर र भक्तपुरका तीनवटा वधशालाबाट मासुको स्वास्थ्य परीक्षण गरी सरकारी छाप लगाएर बिक्री गर्ने व्यवस्था सुरु गरेको छ ।

नयाँ नियमअनुसार बिरामी वा मरेका पशुको मासु, मिसावटयुक्त मासु तथा स्वास्थ्य परीक्षण नगरिएको मासु बिक्री गर्न पाइने छैन । उपभोक्तालाई स्वच्छ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले ऐन कार्यान्वयनमा ल्याइएको विभागले जनाएको छ ।

नियम उल्लंघन गरी मासु बिक्री गर्ने तथा वधशाला सञ्चालन गर्ने व्यवसायीलाई ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना र तीन महिनासम्म कैद सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।

काठमाडौं उपत्यकामा सुरु गरिएको यो व्यवस्था आगामी सन् २०२७ जनवरी १५ (२०८३ माघ १) देखि उपत्यकाबाहिरका नगरपालिकामा पनि विस्तार गरिनेछ । त्यस्तै, बाँकी गाउँपालिकामा भने सन् २०२७ जुलाई १७ (२०८४ साउन २) देखि लागू गरिने योजना छ ।

ऐनको पूर्ण कार्यान्वयनसँगै मासु उत्पादन, प्रशोधन तथा बिक्री वितरणलाई व्यवस्थित बनाउँदै उपभोक्ताले स्वच्छ र स्वस्थ मासु उपभोग गर्न पाउने अपेक्षा गरिएको छ ।