Dhulikhel Eco Banner new

हुम्लाको डोजाममा ३२ फिट अग्लो फलामे सिँढी, धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्दै

1.22K
shares

काठमाडौं, १ मंसिर । हुम्लाको डोजाम गाउँमा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चट्टानी पहाडको टाकुरासम्म पुग्न सकिने ३२ फिट अग्लो फलामे सिँढी निर्माण गरिएको छ ।

पहाडको टाकुरामा स्थापित ठूलो बुद्धको मूर्तिसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले फलामे सिँढी निर्माण गरिएको हो । ३४ फिट अग्लो फलामे खम्बालाई बेरेर ३२ वटा फलामे खुड्किला बनाइएको छ । यसले पर्यटकलाई पहाडको टाकुरासम्म पुग्न सहज बनाउनेछ ।

टाकुरामा पुग्ने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै वरिपरि सुरक्षा बारसमेत निर्माण गरिएको छ । प्राकृतिक रूपमा चट्टानी रहेको पहाडमा निर्माण गरिएको यो संरचनाले धार्मिक तथा साहसिक पर्यटनको सम्भावनासमेत बढाउने अपेक्षा गरिएको छ ।

यस परियोजनाका लागि कर्णाली प्रदेश सरकारले ९६ लाख रुपैयाँ लगानी गरेको छ । उक्त रकमबाट गुम्बा, सुरक्षा बार तथा फलामे सिँढी निर्माण गरिएको हो ।

नयाँ पर्यटकीय संरचनाको निर्माणसँगै डोजाम गाउँमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने अपेक्षा गरिएको छ । यसले हुम्लाको धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीयस्तरमा आर्थिक गतिविधि र रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।